चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता

डिसी नेपाल
७ जेठ २०८३ १८:२१

काठमाडौं । जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले चीनको प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनमा आफ्नो पर्यटन र वेलनेस सम्भावनालाई प्रस्तुत गरेको छ।

नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ग्वाङ्झाउस्थित नेपाल महावाणिज्य दूतावासले २० मे २०२६ मा ‘नेपालः ए लाइफटाइम एक्सपिरियन्स’ विषयक पर्यटन प्रवद्र्धन तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको हो।

शेन्जेनस्थित द रिट्ज–कार्लटन होटलमा सम्पन्न कार्यक्रममा मिडिया, ट्राभल ट्रेड, व्यवसायिक क्षेत्र तथा गैरआवासीय नेपाली समुदायका करिब ८० जनाको सहभागिता रहेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डका अनुसार कार्यक्रममा ग्वाङ्झाउस्थित नेपालका महावाणिज्यदूत भरत खनालले नेपाल–चीनबीचको दीर्घकालीन कूटनीतिक सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्यको सम्भावनाबारे चर्चा गरे। उनले नेपाललाई प्राकृतिक सौन्दर्य, संस्कृति र आध्यात्मिक अनुभवको अनुपम गन्तव्यका रूपमा प्रस्तुत गरे।

त्यसैगरी, शेन्जेन पर्यटन संघका उपाध्यक्ष तथा शेन्जेन ट्राभल एजेन्सी उद्योग संघका कार्यकारी अध्यक्ष वाङ ताओले नेपाल र शेन्जेनबीच पर्यटन आदान–प्रदान र सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक बिमल कडेंलले नेपालको साहसिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनसँगै योग, ध्यान र मानसिक स्वास्थ्यसँग सम्बन्धित ‘वेलनेस टुरिजम’ को बढ्दो आकर्षणबारे प्रस्तुति दिएका थिए।

उनले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल वेलनेस वर्ष २०२७’ तथा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त अप्रिल १५ को ‘वेलनेस डे’ मा नेपालको सक्रिय भूमिकालाई समेत जोड दिएका थिए।

कार्यक्रमलाई चीनको विशाल पर्यटन बजारमा नेपालको उपस्थिति बलियो बनाउने तथा आगामी जीआइटीएफ २०२६ अघि नेपाललाई अनुभवात्मक र वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *