सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

डिसी नेपाल
७ जेठ २०८३ १८:२६

काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले भनिन्,‘संसद् बैठकमा बसिरहँदा भर्खरै मलाई भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो। अस्पतालले औषधि अभावको गम्भीर अवस्थाबारे जानकारी गराएको छ।’

सांसद अवालका अनुसार क्यान्सरको उपचारमा अनिवार्य मानिने ‘कार्बोप्लाटिन’ औषधिको भक्तपुर अस्पतालमा मात्र नभई देशभर नै चरम अभाव देखिएको छ। औषधि नपाएकै कारण बिरामीहरू उपचारबिनै घर फर्किन बाध्य भएको उनले बताइन्।

‘देशभर औषधि नपाएर क्यान्सरका बिरामीहरू उपचार नपाएर बिनाउपचार फर्किनुपरेको छ, स्थिति एकदमै जटिल र गाह्रो भइसकेको छ,’उनले भनिन्।

सांसद अवालले तत्काल ‘कार्बोप्लाटिन’ औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालय र सरकारसँग जोडदार माग गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *