रवि लामिछाने भन्छन्- प्रधानमन्त्री संसद्‍मा आउनुहुन्छ, तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ

डिसी नेपाल
७ जेठ २०८३ १८:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने दाबी गरेका छन्। बिहीबार संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री संसद्‍मा आउने बताए पनि कहिले आउने भन्नेबारे भने स्पष्ट खुलाएनन्।

प्रधानमन्त्रीको संसद्‍मा अनुपस्थितिलाई लिएर सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा लामिछानेले कूटनीतिक जवाफ दिए। उनले भने, “प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरै छैन। आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ।”

प्रधानमन्त्रीको अनुपस्थितिका कारण आफूलाई कुनै दबाब परेको छ कि भन्ने प्रश्नलाई भने उनले पूर्ण रूपमा अस्वीकार गरे।

“मलाई कुनै कुराको दबाब छैन। म दबाब लिने मान्छे नै होइन। संसद्‍मा प्रक्रिया र अभ्यासहरू आफ्नै गतिमा हुँदै जाने कुरा हुन्, मुख्य कुरा काम हो,” लामिछानेले थपे, “सरकारले आफ्नो काम गरिरहेको छ। अहिले मिडियाले सत्तापक्ष वा मलाई भन्दा पनि प्रतिपक्षलाई बढी समय दिनुभयो भने राजनीतिक रूपमा अलि बढी सजिलो हुन्थ्यो।”

पछिल्लो समय प्रधानमन्त्रीको संसद् उपस्थिति र सरकारको प्रभावकारितालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाइरहेका बेला सभापति लामिछानेको यस्तो अभिव्यक्ति आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *