कालिकोटमा विद्यालय पुनर्निर्माण गर्न जुटे अष्ट्रेलियाका नेपाली
सिड्नी। कालिकोटस्थित एक विद्यालय पुनर्निर्माण गर्न अष्ट्रेलियाका नेपालीहरु एकजुट भएका छन्।
हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लास्थित एक प्राथमिक विद्यालय पुनर्निर्माण गर्न सघाउन आगामी १ अगष्ट २०२६ मा सिड्नीको झरना फंक्शन सेन्टरमा एक च्यारिटी डिनर आयोजना गर्न लागेको छ।
‘गिभिंग इनिसियटिभ’ नाम दिइएको उक्त कार्यक्रमबाट उठेको रकम दुर्गम कालिकोट जिल्लाको खपर्मस्ता आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न सहयोग गरिने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले बताइन्। उनले उक्त च्यारिटी डिनरमा सहभागी हुन अष्ट्रेलियास्थित सबै नेपाली समुदायलाई आग्रह गरिन्।
यसैगरी हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डीनेटर डिला खरेलले संसारभर रहेका नेपालीहरुले मातृभूमिको सक्दो सेवा गरि रहेको स्मरण गरे।
‘हामी त माध्यम मात्रै हौँ। महाभूकम्प जाँदा होस् वा कोभिड महामारीको समय होस्, अष्ट्रेलियास्थित नेपाली समुदायले गर्दै आएको निस्वार्थ सहयोग एकदमै सह्राहनीय छ,’ उनले भने। उक्त कार्यक्रमको संयोजकमा इ हर्ष गौतम, लक्ष्मण शर्मालगायत रहेका छन्।
‘मातृभूमिका लागि महिनामा एक पाउण्ड : एक डलर’ भन्ने नारासहित सन् १९९९ मा हेल्प नेपाल नेटवर्कको स्थापना गरिएको थियो।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २२ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा २२ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुर्याउँदै आएको छ।







डिसी नेपाल







Facebook Comment