च्याचौर प्रहरी चौकी निर्माण अवरोधबारे सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीबिच संवाद

डिसी नेपाल
८ जेठ २०८३ १७:४१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अस्थायी प्रहरी चौकी भवन निर्माणमा भएको अवरोधका विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

शुक्रबार भएको उक्त संवादमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३, च्याचौर क्षेत्रमा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको र सोही अनुसार हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेको जानकारी दिए।

उनले प्रहरी चौकी निर्माण भइरहेको क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पार्दै अवरुद्ध निर्माण कार्यलाई अविलम्ब पुनः सञ्चालन गरी विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक वातावरण निर्माणमा सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरे।

दुवै मुख्यमन्त्रीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घटनामा संलग्न दोषी व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रदेश सरकारमार्फत नेपाल सरकारसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

कुराकानीका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकार शान्ति, सुरक्षा र सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सबै पक्षलाई संयमता अपनाउन तथा संवादमार्फत समस्या समाधान गर्न हार्दिक अपिल गरेका छन्।

यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा उक्त घटनाप्रती खेद प्रकट गरेको छ।

संसदीय दलको बैठकका निर्णयहरू

निर्णय नं. १:- सुदूरपश्चिम प्रदेश सभामा रहेका बिभिन्न समितिहरुमा विचाराधिन रहेका विधेयकहरु छीटो टुङ्गो लगाई सभामा पेश गर्न समितिलाई अनुरोध गर्ने निर्णय गरियो।

निर्णय नं. २:- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८२।०८३ का लागी ल्याउन लागेको बजेटलाई व्यवस्थित गरी सन्तुलित, समानुपातिक र समावेशी रुपमा बिनियोजन गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरियो।

निर्णय नं. ३:- सुदूरपश्चिम प्रदेशबाट बजेट बिनियोजन भई हिमाली गाउँपालिकाले कार्यान्वयन गर्ने गरी हिमाली गाउँपालिका वडा नं. ३ स्थित च्याचौर अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा केही व्यक्तिहरुद्धारा अवरोध सृजना गरी बनेको संरचनामा क्षति हुनुका साथै केही व्यक्तिहरुमाथि आक्रमण भई घाईते हुनुभएका कारण घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित दोषीहरुमाथि कडा भन्दा कडा कारवाहीका साथै अस्थायि प्रहरी चौकी यथासिघ्र निर्माण गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाईदिन हुन संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *