महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु
जलेश्वर (महोत्तरी)। महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो।
मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए।
मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment