रास्वपा बाराको बैठकमा तनाव: कार्यकर्ताद्वारा सांसद र केन्द्रीय नेताहरूमाथि धक्कामुक्का
रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ।
विवादले उग्र रूप लिएपछि आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलमै उपस्थित प्रतिनिधिसभा सदस्य (सांसद) तथा केन्द्रीय नेताहरूलाई धक्कामुक्का समेत गरेका छन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले नेताहरूलाई सुरक्षित रूपमा कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो।
शनिबार बाराको कलैयास्थित ‘करणराज पार्टी प्यालेस’मा रास्वपाको विस्तारित बैठक आयोजना गरिएको थियो। बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का चन्दन सिंह, क्षेत्र नं. ३ का अरविन्द साह, क्षेत्र नं. ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायतका केन्द्रीय नेताहरूको उपस्थिति थियो।
सहभागीहरूका अनुसार पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने र बाइपास (उपेक्षा) गर्ने प्रयास गरिएपछि विवादको बिजारोपण भएको हो।

केही दिनअघि मात्रै रास्वपाले संस्थापक जिल्ला अध्यक्ष स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरेपछि बारामा पार्टीभित्रको आन्तरिक कलह निकै चुलिएको थियो। सोही असन्तुष्टि आजको बैठकमा विष्फोट भएको बुझिएको छ।
सामान्य भनाभनबाट सुरु भएको विवाद कडा भनाभन र नाराबाजीमा परिणत भएको थियो। आक्रोशित कार्यकर्ताहरू नेताहरूमाथि नै जाइलागेपछि प्रहरी टोलीले हस्तक्षेप गरी नेताहरूलाई सुरक्षित स्थानतर्फ पुर्याएको थियो।
तनावपूर्ण वातावरणलाई शान्त पार्न हाल बैठक स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।








डिसी नेपाल







Facebook Comment