एमालेमा नेतृत्व परिवर्तनको बहस, ९ नेताको धारणापछि ओलीमाथि दबाब चुलियो
काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक समीकरणका कारण निकै गर्माएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा जारी बैठकमा शनिबार महासचिवसहित ९ जना पदाधिकारीहरूले आफ्नो राजनीतिक धारणा राखेका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले महासचिव, तीन जना उपमहासचिव र पाँच जना सचिवले आ–आफ्नो कार्यक्षेत्र र राजनीतिक परिस्थितिमा आधारित भएर धारणा राखेको जानकारी दिए।
एमाले वृत्तमा यो बैठकलाई निकै चासोका साथ हेरिएको छ। पार्टीभित्र पछिल्लो समय विकसित समीकरणलाई लिएर अध्यक्ष केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परेको र खुद महासचिव शंकर पोखरेलसमेत पार्टी पुनर्गठन (नयाँ शिराबाट अघि बढाउने) को पक्षमा खुलेको जस्ता गम्भीर चर्चा र राजनीतिक दाबीहरू बाहिर आएका छन्।
विशेष गरी सरकारको कार्यशैली, सुशासनका मुद्दा र पार्टीको भावी दिशालाई लिएर संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभिन्नता चुलिएको स्रोतहरूको दाबी छ।
यद्यपि, संस्थापन पक्षका नेताहरूले भने यी विषयहरूलाई अस्वीकार गर्दै आएका छन्। नेताहरूले धारणा राख्ने क्रममा बीच–बीचमा पार्टी अध्यक्ष ओलीले आवश्यक दिशानिर्देश र टिप्पणीसमेत गरेको उपमहासचिव भट्टले बताए।
एमाले नेतृत्वले मिडिया र राजनीतिक बजारमा बैठकलाई लिएर भइरहेका यस्ता प्रचारप्रति कडा असन्तुष्टि जनाएको छ। उपमहासचिव भट्टले बैठकमा भएका नियमित छलफल र अनुभव आदानप्रदानका विषयहरूलाई बाहिर धेरै अतिरञ्जित, तोडमरोड र भ्रमपूर्ण ढङ्गले प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
सचिवालयका अधिकांश पदाधिकारीले बोले पनि अझै चार जना सचिवहरूले आफ्नो धारणा राख्न बाँकी छ। भोलि आइतबार बस्ने बैठकमा बाँकी चार जना सचिवहरूले कुरा राखेपछि मात्रै सचिवालयमा प्रस्तावित मुख्य एजेन्डाहरू र पार्टीको आन्तरिक विवादबारे ठोस निर्णय वा आधिकारिक धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ।
एमालेको यो महत्त्वपूर्ण सचिवालय बैठक भोलि आइतबार बिहान ११:३० बजे पुनः अध्यक्ष ओलीकै निवास गुण्डुमा बस्ने गरी स्थगित भएको छ।







डिसी नेपाल







Facebook Comment