रास्वपाभित्र आन्तरिक मतभेद सतहमा: सांसदहरूलाई ‘सय दिन’ नबोल्न रविको निर्देशन

डिसी नेपाल
१० जेठ २०८३ १२:२८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नीतिगत विषय, मधेशका एजेन्डा र शक्ति बाँडफाँटलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ।

पार्टी सभापति रवि लामिछानेले संसद् र सञ्चारमाध्यममा जथाभाबी टिप्पणी नगर्न आफ्ना सांसदहरूलाई चेतावनीयुक्त निर्देशन दिएकै समयमा पार्टीभित्रैबाट मधेशको सीमा समस्या र नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठ्न थालेका हुन्।

पार्टीलाई थप विवादमा पर्न नदिन सभापति लामिछानेले हालै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशका सांसदहरूसँग झन्डै पाँच घण्टा लामो छलफल गरेका थिए।

सो क्रममा उनले सांसदहरूलाई वर्तमान सरकारको कार्यशैलीलाई लिएर कम्तीमा ‘हन्ड्रेड डेज’ (सय दिन) सम्म कुनै पनि सार्वजनिक टिप्पणी नगर्न कडा निर्देशन दिएका छन्।

मिडियामा दिइने अदूरदर्शी अन्तर्वार्ताहरूले पार्टीको साख (इमेज) ड्यामेज गरिरहेको उल्लेख गर्दै लामिछानेले कम्तीमा तीन महिना पूर्ण रूपमा सावधानी अपनाउन र मौन बस्न “निर्देशनरुपी सल्लाह” दिएका हुन्।

सभापतिले मुख बन्द राख्न दबाब दिए पनि मधेश प्रदेशका सांसद र नेताहरू भने पार्टीको भूमिकाप्रति रुष्ट देखिएका छन्। रास्वपाका प्रवक्ता समेत रहेका प्रभावशाली सांसद मनिष झा संसदीय समितिको सभापति र मन्त्री पद दुवैबाट वञ्चित भएपछि भित्रभित्रै असन्तुष्ट बनेका छन्।

झाले मधेशमा देखिएका जनसरोकारका मुद्दामा पार्टीले दह्रो अडान लिन नसकेको भन्दै शीर्ष नेतृत्वसँग कडा असहमति राखेका छन्।

विशेष गरी भारतसँगको सीमा नाकामा रैथाने मधेशी समुदायले भोग्नुपरेको सास्तीको विषयलाई लिएर रास्वपाभित्रै विद्रोहको आवाज उठ्न थालेको छ।

लामिछाने निकट मानिने मधेशका एक शीर्ष नेताले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको लाइनलाई समर्थन गर्दै मधेशको छोरा प्रधानमन्त्री बनेको महिना दिनमै सीमा क्षेत्रमा चेलीबेटी र बुहारीहरूका सामान्य कोसेलीसमेत भन्सारका नाममा जफत हुनु दुःखद भएको बताएका छन्।

यस विषयलाई रास्वपाले संसद्मा जोडदार रूपमा उठाउनुपर्ने माग झा र मधेशी समूहका सांसदहरूको छ।

यसैबीच, कास्की जिल्ला अदालतबाट हालै सभापति लामिछानेको पक्षमा आएको एक आदेशले रास्वपाको राजनीतिमा नयाँ मोड ल्याएको छ। यस आदेशलाई रवि समूहले आफ्नो राजनीतिक विजयका रूपमा व्याख्या गरिरहेको बेला ‘प्रधानमन्त्री बालेन समूह’ ले भने यसलाई फरक कोणबाट नियालिरहेको छ।

यही आन्तरिक खिचातानी र नयाँ राजनीतिक समीकरणका बीच आगामी जेठ १९ गते हुन लागेको सभापति लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। यो भ्रमणले रास्वपाभित्रको शक्ति सन्तुलन र राष्ट्रिय राजनीतिमा समेत नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *