बझाङमा ७० मेगावाट बिजुली उत्पादन भए पनि ४० प्रतिशत जनता अँध्यारोमै
काठमाडौं। नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत् उत्पादन भइरहे पनि स्थानीय जनता अझै पनि अन्धकारमा बस्न बाध्य भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महरले बझाङको विद्युत् आपूर्ति र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई विस्तृत रूपमा जानकारी गराएका हुन्।
बझाङबाट ७० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको भए तापनि जिल्लाका ४० प्रतिशतभन्दा बढी नागरिकहरू अझै पनि बिजुलीको पहुँचबाट टाढा रहेको तथ्य उहाँले संसद्मा पेस गरे।
आफ्नो गृह जिल्लाको यथार्थ चित्रण गर्दै सांसद महरले गत फागुन २१ गते सम्पन्न उपनिर्वाचन अगाडिको एउटा रोचक तथा दुःखद घटना समेत सदनमा सेयर गरे।
बझाङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन दूत बनेर त्यहाँ पुगे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह बझाङको बुङ्गल नगरपालिकास्थित बिजगडामा बसेको रात हावाहुरी चल्नासाथ बिजुली गएको र भोलिपल्टदेखि मोबाइलको नेटवर्क समेत पूर्ण रूपमा अवरुद्ध भएको उदाहरण उनले दिए।
बझाङमा सामान्य हावाहुरी चल्दा समेत दिनौँसम्म सञ्चार र विद्युत् सेवा अवरुद्ध हुनु लज्जास्पद भएको उनको भनाइ थियो।
सांसद महरले बझाङबासीले भोग्दै आएको यो नियति र सास्तीको दीर्घकालीन समाधानका लागि जिल्लामै तत्काल सबस्टेसन निर्माण गर्न र सञ्चार सेवालाई भरपर्दो एवं सहज बनाउन सरकारसँग जोडदार माग गरे।
आफ्नै जिल्लाको पानीबाट उत्पादित बिजुलीले देश उज्यालो भइरहँदा बझाङबासीले नै अँध्यारो खप्नुपर्ने अवस्थाको अन्त्य गरी तत्काल उज्यालो र सञ्चारको प्रबन्ध मिलाउन उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।







डिसी नेपाल







Facebook Comment