संसद प्रतिपक्षीको भएकाले आवाज उठाउनु स्वाभाविक : एमाले सांसद पद्मा अर्याल
काठमाडौं। नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताएकी छन्।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन्। उनले प्रतिपक्षीले उठाएका मागलाई सत्तापक्षले जुवारी खेलको रूपमा लिन नहुने धारणा राखिन्।
अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पारिन्। उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै लोकतान्त्रिक संस्कार र राजनीतिक उत्तरदायित्व स्थापित गर्नु नै आफ्नो दलको मुख्य उद्देश्य रहेको बताइन्।
उनले प्रतिपक्षको विरोध सधैँका लागि नभई नियमावलीले अनिवार्य गरेको दिन प्रधानमन्त्री उपस्थित नभए आन्दोलन र संघर्षको स्वरूपमा जाने चेतावनी दिइन्। संसद अवरुद्ध गर्ने उद्देश्य नभएको भन्दै आवश्यकताअनुसार मात्रै विरोध गरिने उनको भनाइ थियो।
एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलेको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै अर्यालले पार्टी बैठकमा अध्यक्षले राजीनामा दिनुपर्ने कुरा कुनै सदस्यले नउठाएको दाबी गरिन्। उनले पार्टीले चुनावी परिणामको वस्तुगत समीक्षा गर्न कार्यदल गठन गरेर एक महिनाको समय दिएको जानकारी दिइन्।
उनले पछिल्लो निर्वाचनमा एमाले मात्रै नभई सबै पुराना राजनीतिक दलहरू कमजोर बनेको दाबी गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन परिवर्तन भएको बताइन्। वामपन्थी एकताको विषयमा बोल्दै उनले अहिले कुनै पनि राजनीतिक दलबीच औपचारिक छलफल नभएको स्पष्ट पारिन्। सबै दल अहिले आत्मसमीक्षा र आगामी रणनीति निर्माणमा केन्द्रित रहेको उनको भनाइ थियो।







डिसी नेपाल







Facebook Comment