फौजीकिराले मासेको मकैमा असिनाको मार

डिसी नेपाल
१२ जेठ २०८३ १८:३१

बागलुङ। मकै बालीमा फौजीकिराको प्रकोपले पीडामा रहेका बागलुङका किसानलाई असिनापानीले थप पीडा दिएको छ। अमेरिकन फौजीकिराको प्रकोपका कारण मकैका बोट सखाप बन्दै गएपछि चिन्तामा रहेका किसानलाई यही जेठ ११ गतेको असिनापानीले थप पीडा दिएको हो।

बागलुङको काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकालगायतका किसानले लगाएको मकैमा फौजीकिराको प्रकोप देखिएको जिल्ला विकास कार्यालय बागलुङका बाली संरक्षण अधिकृत सचिन गहतराजले बताए।

उनले किसानले दैनिक फोन गरेर फौजीकिरा देखिएको गुनासो गरेका उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालयले विषादी उपलब्ध गराउँदै आएको बताए। फौजीकिराको प्रकोपमा परेको मकैबाली असिनापानीले थप सखाप पारेको उनले बताए।

फौजीकिराले मकै सखाप पारेको काठेखोला गाउँपालिका–५ का टिकादेवी कँडेलले बताए। उनले किराले दिउँसोमा नदेखिने र रातिमा बाहिर निस्केर मकैको बोट खाएर नष्ट गर्ने गरेको बताए।

“दिउँसोमा केहि पनि देखिँदैन। रातिमा मकै खाएर नष्ट गर्ने रहेछ,” उनले भने, “किराले भर्खरै हुर्कन लागेको मकैका बोट नष्ट गरेको छ।”

खेतमा लगाएको मकैमा फौजीकिराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन्। फौजीकिराको प्रकोपको कारण यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ। जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजीकिराको प्रकोप देखिएको भन्ने गुनासो आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत गहतराजले बताए।

“अहिले दैनिकजसो किसानले फौजीकिराले मकै नष्ट गरेको गुनासो गर्नुभएको छ,” उनले भने, “फौजीकिरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजीकिराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ।”

जिल्ला कृषि विकास कार्यालय, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि आधुनिकीकरण परियोजना एकाई कार्यालय बागलुङ, काठेखोला गाउँपालिकाका कृषिशालाको टोलीले बुधबार काठेखोला गाउँपालिका–५ मा मकै बालीमा अमेरिकन फौजीकिराले पुर्‍याएको क्षतिको अनुगमन गरेको थियो। टोलीले किसानलाई समयमै विषादीको प्रयोग गर्न सुझाव दिएको छ।

प्रदेश कृषि प्रयोगशाला पोखराका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले अमेरिकन फौजीकिराले मकैको पातको हरियो पदार्थ खाने भएका कारण मकै नष्ट हुने गरेको बताए। उनले फौजीकिरा नियन्त्रणका लागि सुरुआतमा जैविक विधि अपनाउन सकिने बताए। अधिकृत अधिकारीले किरा देखिन थालेको अवस्थामै विषादीको प्रयोग गरेमा नियन्त्रण गर्न सकिने र कम क्षति हुने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *