क्यान्सर अस्पतालमा औषधिको चरम अभाव: बिरामीको स्वास्थ्य जोखिममा, अवैध बजार मौलाउँदै
चितवन। क्यान्सर उपचार गर्ने देशकै सबैभन्दा ठूलो सरकारी निकाय बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्यावश्यक औषधिको चरम अभाव देखिएको छ।
विश्वव्यापी रूपमै आपूर्ति शृङ्खला प्रभावित हुँदा क्यान्सर उपचारमा प्रयोग हुने महत्त्वपूर्ण औषधिहरूको अभाव अस्पतालमा चुलिएको हो।
अस्पतालको मेडिकल अंकाेलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार क्यान्सरको केमोथेरापीका लागि मेरुदण्ड मानिने ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ जस्ता औषधिको अभाव छ।
यी औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थ (एपिआई) को विश्वव्यापी आपूर्ति नै ठप्प भएकाले यस्तो स्थिति आएको हो। निकट भविष्यमा ‘अक्सालोप्लाटिन’ को पनि अभाव हुन सक्ने चेतावनी डा. साहले दिएका छन्।
अस्पतालमा दैनिक झन्डै २०० बिरामीले डे-केयर र वार्डमार्फत केमोथेरापी लिने गर्छन्। यी मुख्य औषधिलाई अन्य विकल्पले सहजै प्रतिस्थापन गर्न नमिल्ने हुँदा चिकित्सकहरू उपचारमा सम्झौता गर्न बाध्य छन्, जसले गर्दा केमोथेरापीको प्रभावकारिता घट्ने र क्यान्सर निको हुने दरमा ह्रास आउने जोखिम बढेको छ।
औषधि अभावको फाइदा उठाउँदै बजारमा अवैध ओसारपसार र गुणस्तरहीन औषधिको बिक्री वितरण सुरु भएको छ। कतिपय बिरामीले छिमेकी मुलुक वा बाहिरका पसलबाट औषधि व्यवस्था विभागमा दर्ता नभएका र भन्सार छलेका औषधि ल्याउने गरेका छन्।
“क्यान्सरका धेरैजसो औषधि २५ डिग्री सेन्टिग्रेडभन्दा मुनिको तापक्रममा राख्नुपर्छ। तर, चितवन जस्तो गर्मी ठाउँमा ३६–३७ डिग्रीको तापक्रममा झोलामा बोकेर ल्याइने औषधिको प्रभावकारिता न्यून हुन्छ, जसले फाइदाभन्दा बढी बेफाइदा पुऱ्याउन सक्छ,” डा. साहले स्पष्ट पारे।
यसका साथै बाहिरका केही औषधि पसलहरूले अभाव भएका औषधि दिनका लागि अन्य सबै औषधि पनि आफ्नै पसलबाट किन्नुपर्ने बाध्यकारी सर्त राखेर बिरामीलाई अनावश्यक आर्थिक बोझ थपेका छन्।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिनको सप्लाइ ६ महिनाअघि नै बन्द भएको थियो। अस्पतालमा भएको स्टक क्रमशः सकिँदै गएर कार्बोप्लाटिन जेठ २ गते पूर्ण रूपमा सकिएको हो।
सप्लायर्स कम्पनीहरूले कच्चा पदार्थ अभावका कारण उत्पादन नै बन्द भएको जानकारी अस्पताललाई गराएका थिए। यद्यपि, हालै एक बङ्गलादेशी कम्पनीबाट केही महिना पुग्ने औषधि आयात भएकाले अब अस्पतालमा आपूर्ति हुने अपेक्षा गरिएको छ।
तत्कालकाे विकल्प: बालबालिकाका लागि राखिएको औषधि चलाउने अनुमति माग
वर्तमान संकट समाधानका लागि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई पत्राचार गरिसकिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले जानकारी दिए।
उनका अनुसार हाल विभागमा बालबालिकाहरूका लागि मात्र निःशुल्क प्रयोग गरिने कार्बोप्लाटिन र सिसप्लाटिन मौज्दात छ, जसको म्याद सेप्टेम्बर/अक्टोबर २०२६ सम्म मात्र छ।
छुट्टै परियोजनाअन्तर्गतको उक्त औषधि म्याद गुज्रिनुअघि नै अन्य वयस्क बिरामीलाई समेत प्रयोग गर्न दिन अनुमति माग गर्दै स्वास्थ्य सेवा विभागसँग समन्वय भइरहेको डा. नेपालले बताए। विभागले अनुमति दिएमा केही समयका लागि बिरामीलाई राहत पुग्ने अस्पताल प्रशासनको विश्वास छ।







डिसी नेपाल







Facebook Comment