‘विगत अल्झिने छैनौँ, भारतसँग पारस्परिक लाभ र विकासका लागि सहकार्य गर्छौं’
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई समयसापेक्ष रूपमा नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न वर्तमान सरकार पूर्ण रूपमा तत्पर रहेको बताएका छन्।
भारतीय सञ्चारमाध्यम ‘एनडिटिभी’ सँगको विशेष अन्तरवार्तामा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको छोटो अवधिमै आम नागरिकको चाहना र बलियो समर्थनका कारण सरकारको नेतृत्वमा पुगेको उल्लेख गरे। उनले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
नेपाल र भारतबीचको खुला सिमानाको चर्चा गर्दै मन्त्री खनालले दुवै देशले एकअर्काको सुरक्षा संवेदनशीलता र सरोकारलाई पूर्ण रूपमा आत्मसात् गरेको बताए। उनले मौरिससमा आयोजित एक कार्यक्रमका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग भएको भेटको स्मरण गर्दै सम्भव भएका सबै क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
विगत होइन, भविष्यको सहकार्यमा जोड
नेपालले विशेषगरी व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र कनेक्टिभिटी (सम्पर्क सञ्जाल) जस्ता महत्त्वपूर्ण क्षेत्रमा भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको उनको भनाइ थियो। यसका साथै बंगलादेशमा नेपाली विद्युत् निर्यातका लागि भारतले सकारात्मक सहयोग गर्नेमा उनले विश्वास व्यक्त गरे।
“हामी विगतका पुराना असमझदारीहरूमा अल्झिएर बस्ने छैनौँ। विगतमा दुई ठूला छिमेकी मुलुकको विकासबाट नेपालले जति लाभ लिनुपर्ने थियो, त्यति लिन सकेन,” मन्त्री खनालले भने, “अब हामी पारस्परिक लाभ र उज्ज्वल भविष्यका लागि कूटनीतिक सम्बन्धको अधिकतम उपयोग गर्नेछौँ। नेपाली जनताको जीवनस्तर सुधार्न नयाँ र बहुआयामिक सहकार्यका क्षेत्रहरू पहिचान गरिनेछ।”
सम्बन्धमा नयाँ उत्साह
रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारबाट प्राप्त न्यानो स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन थप उत्प्रेरणा मिलेको मन्त्री खनालले उल्लेख गरे।
नेपालमा रेलमार्ग विस्तार, उत्कृष्ट शैक्षिक संस्थाको विकास र आधुनिक प्रविधिको आदानप्रदानका लागि चाँडै नै दुई देशबीच ठोस सहमति र सहकार्य हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको उनले बताए।







डिसी नेपाल







Facebook Comment