नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबीच आज साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको छ।
द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गरेका थिए। उनले गत अप्रिल महिनामा मौरिससमा भएको नवौँ इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा विदेशमन्त्री जयशङ्करसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताए।
“द्विपक्षीय संलग्नताको महत्त्वपूर्ण अवसर प्राप्त भएकामा म खुसी छु। म यो अवसरमा आगमन भएदेखि नै तपाईं र भारत सरकारबाट प्राप्त गरिएको सौहार्दपूर्ण आतिथ्यका लागि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु” उनले भने। नेपालको नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले आफूहरूसँग नजिकको छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ सङ्कल्प रहेको बताए।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्त्वपूर्ण भ्रमण गर्नुभएको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएका बताउनुभएको थियो। “हामी यस सभ्यतागत सम्बन्धलाई आधुनिक विकासमुखी साझेदारीमा रूपान्तरण गर्न चाहन्छौँ”, उनले भने।
परराष्ट्रमन्त्री खनालले नेपालले भारतसँगको सम्बन्धलाई उच्चतम् प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ सरकार सार्थक, उद्देश्यपूर्ण र उच्चतम स्तरमा सम्बन्ध प्रगाढ बनाउन तयार रहेको बताए। “भारतसँगको सम्बन्ध केवल ऐतिहासिक मात्र होइन, यो कठिन समयमा सबैभन्दा महत्त्वपूर्ण पनि रहँदै आएको छ। चाहे त्यो विपद्को समय होस् वा आजको पश्चिम एसिया सङ्कटको बेला”, परराष्ट्रमन्त्री खनालले भने, “इन्धन आपूर्ति होस् वा मल आपूर्ति, तपाईंहरूले सधैँ साथ दिनुभएको छ र यसको लागि म नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु।”
एक उत्पादनशील, स्पष्ट र परिणाममुखी छलफलको अपेक्षा गर्दै यस्तो छलफलले आगामी उच्चस्तरीय भ्रमणहरूको लागि आधार तयार पार्ने र द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत गर्ने उनको भनाइ थियो।
यसैगरी भेटवार्ताका क्रममा विदेशमन्त्री जयशङ्करले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै करिब दुई महिनाअघि मौरिससमा परराष्ट्रमन्त्री खनालसँग भएको भेट र छलफलको स्मरण गरेका थिए। उनले भने, “हाम्रो मामिलामा, भारत र नेपालले निस्सन्देह एक अत्यन्त विशेष सम्बन्ध साझा गर्छन्, जुन जीवन्त जनस्तरका सम्बन्धहरू, सीमा–पार सम्पर्क र साझा सांस्कृतिक तथा धार्मिक परम्पराहरूको बलियो आधारमा निर्मित छ। यो सम्बन्ध आपसी विश्वास, सद्भाव र पारस्परिक लाभमा आधारित छ।”
विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध व्यापार, वाणिज्य, लगानी, ऊर्जा, विकास सहकार्य, शिक्षा, विपद् प्रतिक्रिया र संस्कृतिजस्ता क्षेत्रमा निरन्तर विकसित हुँदै आएको उल्लेख गर्दै दुई देशसँग त्यसलाई अझ अगाडि बढाउने स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नवीकरणीय ऊर्जा र अन्य नयाँ क्षेत्रहरूमा पनि नयाँ अवसर भएको बताएका थिए।
“हामी खुला सीमामा सुरक्षा कायम राख्न नजिकबाट सहकार्य गर्छौं। हाम्रो दुई देशले सधैँ आवश्यक परेको बेला एक–अर्कालाई साथ दिएका छन्,” उनले भने, “पश्चिम एसिया तथा मध्यपूर्वमा जारी सङ्कटको सन्दर्भमा, हामीले नेपाललाई अविरल इन्धन आपूर्ति सुनिश्चित गरेका छौँ।”
यस सम्बन्धको महत्त्व दुवै पक्षबाट हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेको उत्कृष्ट भ्रमणबाट पनि स्पष्ट रूपमा देखिएको उनको भनाइ थियो। सो अवसरमा विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनाललाई नेपाल सरकारको सफलताका लागि शुभकामना व्यक्त गर्दै नेपालको सरकारद्वारा तय गरिएका उद्देश्यहरू र भारतले छिमेकी क्षेत्रमा अघि सारेका पहलहरूबीच बलियो पूरकता रहेको उल्लेख गरेका थिए।
साथै उनले सहकार्य र साझेदारीको एक अत्यन्त स्पष्ट र बलियो सन्देश दिँदै भारत–नेपाल सम्बन्धको दिशालाई निर्णायक रूपमा परिवर्तन गर्ने अवसर रहेको र सम्बन्धको पूर्ण सम्भावना साकार पार्ने समय आएको विश्वास व्यक्त गर्नुभएको थियो। विदेशमन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।
परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो।
त्यस्तै परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इण्डिया फाण्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गरेका थिए। उनी भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।















Facebook Comment