सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन र एसपीसीसीको दीर्घकालीन सहकार्य
काठमाडौं। विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि आफ्नो सहकार्यलाई थप सुदृढ बनाएका छन्।
‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा दीर्घकालीन साझेदारीलाई अघि बढाएका हुन्।
बीवाइडीको “कूल द अर्थ बाई १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि नै शेर्पा समुदायद्वारा सञ्चालित गैरनाफामूलक संस्था एसपीसीसीसँग यो सहकार्य सुरु गरेको थियो।
पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमा गम्भीर दबाब परिरहेको र हिमालमा अझै पनि ८० टनभन्दा बढी विभिन्न प्रकारका फोहोर बाँकी रहेको अनुमान गरिएका बेला यो नवीन प्रयास थालिएको हो।
यसैबीच, सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा यो साझेदारीअन्तर्गत महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्प-२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ को रूपमा आफ्नो मौसमी कार्यालय स्थापना गरेको छ।
उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना र फोहोर व्यवस्थापनको प्रभावकारी अनुगमन गरेका छन्। विशेष गरी क्याम्प-३ र क्याम्प-४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको निगरानी गरिएको छ।
इतिहासकै उच्च सङ्ख्यामा सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएको यस वर्षको सिजनमा क्याम्प-३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर, २१० वटा ईपीआई ग्यास क्यानिस्टर र १ हजार ७६९ वटा ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको छ।
त्यस्तै क्याम्प-२ को चेकपोइन्टमार्फत थप ६ हजार ५२२ किलोग्राम टिन, क्यान, प्लाष्टिक, टेन्ट, कपडा र डोरीसहितका फोहोरहरू संकलन गरिएको छ। यी उपलब्धिहरूलाई आधार बनाउँदै आगामी वर्षहरूमा सगरमाथा क्षेत्रमा थप दिगो पूर्वाधार विकास गर्ने योजना अघि सारिएको छ।
यसअन्तर्गत सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिजसँग सुरु गरिएको सहकार्यलाई निरन्तरता दिँदै ड्रोनमार्फत फोहोर ढुवानी गर्ने प्रणालीलाई थप विस्तार गरिनेछ, जसको परीक्षण चरणमा क्याम्प-१ बाट २८३ किलोग्राम फोहोर सफलतापूर्वक ढुवानी भइसकेको छ।
स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि सीबीसीएफले एभरेष्ट बेस क्याम्पमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गर्न सहयोग गरेको छ, जसले परम्परागत इन्धनमाथिको निर्भरता घटाउनेछ।
यो सम्पूर्ण ‘एभरेष्ट १° इनिसियटिभ’ अभियानलाई कुल तीन चरणमा कार्यान्वयन गरिने रणनीतिक योजना रहेको छ। यस योजनाको पहिलो चरण सन् २०२६ मा वातावरणीय चार्टर निर्माण, दुई जना रेन्जर परिचालन र प्रारम्भिक ड्रोन परिचालनमा केन्द्रित रहनेछ।
सन् २०२७ मा सञ्चालन हुने दोस्रो चरणअन्तर्गत ६ जना रेन्जर परिचालन, क्याम्प-४ मा फोहोर संकलन केन्द्र निर्माण, दुईवटा ड्रोनको प्रयोग र १४० वटा मानव फोहोर व्यवस्थापन उपकरणको विस्तार गरिनेछ।
सन् २०२८ मा सुरु हुने तेस्रो तथा अन्तिम चरणमा सम्पूर्ण पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै २०० वटा मानव फोहोर व्यवस्थापन उपकरण परिचालन गरिनेछ र यस अभियानलाई आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण गरी दिगोपन सुनिश्चित गरिने लक्ष्य राखिएको छ।







डिसी नेपाल







Facebook Comment