एमालेद्वारा देशव्यापी सुझाव संकलन कार्यतालिका सार्वजनिक: असार १९ सम्म प्रदेशदेखि केन्द्रसम्म छलफल हुने
काठमाडाैं। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणका लागि देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले यस्तो कार्ययोजना तय गरेको हो।
पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले आगामी असार १९ गतेसम्म देशव्यापी रूपमा सुझाव सङ्कलन तथा छलफल कार्यक्रम चलाउने निर्णय गरेको छ। पार्टी संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित तय गरिएको कार्यतालिका अनुसार पहिलो कार्यक्रम जेठ ३० गते बागमती प्रदेशबाट सुरु हुनेछ।
त्यसपछि असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश र असार १३ गते मधेश प्रदेशमा सुझाव संकलन गरिनेछ।
प्रादेशिक कार्यक्रम सकिएलगत्तै असार १६ गते राजधानीमा, असार १७ गते सम्पर्क समन्वय, असार १८ गते जनसंगठन र अन्तिम दिन असार १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग छलफल गरिने कार्यतालिका छ।
यी प्रदेशस्तरीय भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ भने कार्यक्रमको समन्वयको जिम्मेवारी सम्बन्धित प्रदेश इन्चार्जहरूलाई दिइएको छ। यसैगरी, बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी पार्टी महासचिव शंकर पोखरेललाई सुम्पिने निर्णय समेत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए। उनले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्ताहरूलाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न निर्देशित गरे।
कार्यदलका सदस्य एवं एमाले सचिव महेश बस्नेतका अनुसार पहिलो बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे निकै विस्तृत र सकारात्मक छलफल भएको छ।







डिसी नेपाल







Facebook Comment