दोलखामा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई जना गम्भीर घाइते

डिसी नेपाल
३० जेठ २०८३ ८:२६

रामेछाप। दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित पिपलबोट नजिकै दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको उक्त दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उहाँको शवलाई अहिले पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा राखिएको छ।

दुर्घटनामा वैतेश्वर गाउँपालिका-२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका-६ चोथाङका १९ वर्षीय विवेक थामी गम्भीर घाइते भएका छन्। घाइते दुवै जनालाई चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र ०२-०६२ प ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट चरिकोटतर्फ आउँदै गरेको बा.८० प ७९७३ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका-५ को पिपलबोट क्षेत्रमा एकापसमा ठोक्किएका थिए। दुर्घटना हुनुको मुख्य कारणबारे जिल्ला प्रहरी कार्यालय दोलखाले थप अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *