शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता, प्राविधिक तथा समावेशी शिक्षामा सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको उक्त भेटघाटका क्रममा उनीहरूबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालनका साथै स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोग र भावी साझेदारी अभिवृद्धि गर्नेलगायतका विविध विषयमा गहन छलफल भएको छ।
स्वीट्जरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा लामो समयदेखि सहयोग पुर्याउँदै आएको एक प्रमुख विकास साझेदार हो।
विशेष गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को क्षेत्रमा स्विस सरकारको ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को-अपरेसन’ (एसडीसी) को सहयोगमा हाल तीनवटा ठूला परियोजनाहरू सञ्चालनमा रहेका छन्।
जसमा ‘नेसनल भोकेसनल क्वालिफिकेसन सिस्टम’, ‘इन्ह्यान्स्ड स्किल फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र ‘क्वालिटी टेक्निकल एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ फर युथ’ रहेका छन्।
भेटका क्रममा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधैँ सुखद र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको समग्र विकास एवं शिक्षा क्षेत्रमा स्विस सरकारले गरेको योगदानका लागि धन्यवाद ज्ञापन गरे।
उनले सीटीईभीटीसम्बन्धी ऐनको मस्यौदा निर्माणको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समयसान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिने काम भइरहेकाले यसलाई छिट्टै संसद्मा पेस गर्ने तयारी भइरहेको जानकारी गराए।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले आगामी दिनमा प्राविधिक शिक्षाका अतिरिक्त डिजिटाइजेसन र समावेशी शिक्षाका क्षेत्रमा पनि स्विस सरकारसँग बलियो सहकार्य गर्न सकिने धारणा राख्दै सहयोगको निरन्तरताको अपेक्षा गरे।
सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीतिअनुरूप काम अघि बढाइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
काठमाडौँ महानगरपालिकामा सञ्चालित ‘बुक फ्री फ्राइडे’ कार्यक्रम निकै प्रभावकारी देखिएकाले त्यसलाई पाठ्यक्रममै समावेश गरी देशभर विस्तार गर्ने योजना रहेको समेत उनले स्पष्ट पारे।
भेटघाटका क्रममा स्विस राजदूत ड्यानिएल मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरे। नेपाल सरकारले लिएका नयाँ अवधारणा र नीतिहरूमा सहयोग तथा सहकार्य गर्न स्विस सरकार सधैँ तयार रहेको उनले बताए।
राजदूत मेउलीले हाल नेपालको प्राविधिक शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीनवटा बेग्लाबेग्लै परियोजनाहरूलाई एकीकृत गरी एउटै बनाएर अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउने योजना रहेको जानकारी समेत शिक्षामन्त्रीसमक्ष गराए।







डिसी नेपाल







Facebook Comment