जेनजी आन्दोलनका युवामाथिका झुटा मुद्दा तत्काल खारेज गर्न रास्वपा सांसद रचना खतिवडाको माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले ‘जेनजी’ आन्दोलनमा सहभागी भएका युवाहरूमाथि सरकारले झुटा मुद्दा लगाएको आरोप लगाउँदै ती मुद्दाहरू तत्काल खारेज गर्न माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत एवं सङ्घर्षबाट प्राप्त जनादेशकै आधारमा बनेको दाबी गरिन्।
तर, अहिले त्यही आन्दोलनमा अग्रसर भएका युवाहरूलाई घर–घरमा पुगेर पक्राउ पुर्जी जारी गर्ने र झुटा मुद्दामा फसाउने काम भइरहेको भन्दै उनले आपत्ति जनाइन्।
सांसद खतिवडाले निर्दोष युवाहरूलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको उल्लेख गर्दै विशेष गरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि झनै बढेको दाबी गरिन्।
सरकारले यसअघि आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू खारेज गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले हालसम्म त्यसको कार्यान्वयन हुन नसकेकोमा गम्भीर प्रश्न उठाइन्।
युवाहरूको त्याग, संघर्ष र समर्थनबिना यो सरकार अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै उनले आन्दोलनकारी युवाहरूमाथि लगाइएका सम्पूर्ण झुटा मुद्दाहरू यथाशीघ्र खारेज गरी न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।







डिसी नेपाल







Facebook Comment