कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन, १२ वन कर्मचारी नियन्त्रणमा
कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ स्थित गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो गुडिरहेकै अवस्थामा भीरबाट खसालिएको अमानवीय घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
मन्त्रीस्तरीय निर्णयअनुसार गठित यस समितिलाई घटनाको मसिनो गरी अध्ययन तथा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र मन्त्रालयसमक्ष प्रतिवेदन बुझाउने पूर्ण जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिएका छन्।
मन्त्रालयद्वारा गठित उक्त छानबिन समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन्।
गत जेठ २९ गते वन क्षेत्रको अतिक्रमण हटाउने अभियानका क्रममा डिभिजन वन कार्यालयका कर्मचारीहरूले निर्दयी ढंगले सर्वसाधारणको टेम्पो भीरबाट गुडाएर खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको देशव्यापी रूपमा कडा विरोध र आलोचना भइरहेको छ।
मन्त्रालयका सचिव कोइरालाले यस अस्वाभाविक र अमर्यादित घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै छानबिनको निष्कर्षका आधारमा दोषी देखिएका जो-कोहीलाई पनि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए।
यसैबीच, सार्वजनिक भिडियो र प्रारम्भिक उजुरीका आधारमा घटनाको कानुनी अनुसन्धानका लागि प्रहरीले डिभिजन वन कार्यालयका १२ जना वन कर्मचारीहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।







डिसी नेपाल







Facebook Comment