मधेश प्रदेश सरकारद्वारा ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक: प्राथमिकतामा कृषि, शिक्षा र पूर्वाधार
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा सोमबार अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन्।
सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्चभन्दा पुँजीगत खर्चलाई बढी प्राथमिकता दिइएको छ। कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३५ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटले विशेष गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र वन क्षेत्रको सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ।
बजेटको स्रोत व्यवस्थापनका सम्बन्धमा अर्थमन्त्री भट्टराईले आन्तरिक स्रोत तथा राजश्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बेहोरिने प्रस्ताव गरेका छन्। त्यसैगरी, संघीय सरकारबाट राजश्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड र वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ। बजेटमा चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिने उल्लेख छ भने अपुग रकम पूर्ति गर्न एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाइने अर्थमन्त्रीले जनाएका छन्।
संघीय सरकारबाट प्राप्त हुने अनुदानको संरचनामा वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष अनुदानबाट ७० करोड गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने सरकारी प्रक्षेपण रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment