अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा रास्वपामा प्रवेश

डिसी नेपाल
१ असार २०८३ २०:१४

धनगढी। सुदूरपश्चिमका प्रभावशाली युवा नेता तथा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

धनगढीमा आयोजित रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनको विशेष अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट रहेर सक्रिय राजनीति गर्दै आएका थापालाई रास्वपाका महामन्त्री भूपदेव शाहले सोमबार पार्टीको झण्डा ओढाएर औपचारिक रूपमा स्वागत गरे।

थापालाई रास्वपामा भित्र्याउन बझाङका युवा व्यवसायी तथा पूर्व संसदीय उम्मेदवार शैलेश सिंहले मुख्य भूमिका निर्वाह गरेका थिए।

विगतमा बझाङ, बाजुरा र अछाम जिल्लामा विद्यार्थी विशेष इन्चार्जको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका थापा सुदूरपश्चिम क्षेत्रमा एक खरो, निडर र क्रान्तिकारी पहिचान बनाएका युवा नेताका रूपमा परिचित छन्।

उनले यसअघि बझाङदिप क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका बलिया उम्मेदवारलाई पराजित गर्दै स्ववियु सभापतिमा निर्वाचित भएर सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्चा कमाएका थिए।

केही दिनअघि मात्रै आफ्नो पुरानो क्रान्तिकारी संगठनबाट राजीनामा दिएका थापाको यो कदमलाई सुदूरपश्चिम, विशेषगरी बझाङ जिल्लामा रास्वपाको सांगठनिक जग बलियो बनाउन र नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *