गर्भावस्थामै पहिचान गर्न सकिन्छ बालबालिकाको मूत्रप्रणाली र मिर्गौलाको गम्भीर रोग
काठमाडाैं। सन्तान जन्मिएपछि उसको स्वास्थ्यलाई लिएर अभिभावकहरू निकै सचेत हुन्छन्। तर, धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि कतिपय गम्भीर रोगहरू बच्चा जन्मनुअघि नै, आमाको गर्भमा छँदा नै पहिचान गर्न सम्भव हुन्छ।
विशेषगरी मिर्गौला, पिसाबको थैली, मूत्रनली तथा यौनाङ्गसँग सम्बन्धित धेरै समस्या गर्भावस्थाकै क्रममा पत्ता लगाउन सकिने र समयमै उपचार गरेमा बच्चाको जीवन नै बचाउन सकिने चिकित्सकहरू बताउँछन्।
वरिष्ठ बाल शल्यचिकित्सक तथा बाल मूत्ररोग विशेषज्ञ डा. रामानन्दनप्रसाद चौधरीका अनुसार बालबालिकामा देखिने मूत्र प्रणाली तथा यौनाङ्ग सम्बन्धी रोगहरूको उपचार गर्ने चिकित्सा विज्ञानको विशेष शाखालाई बाल युरोलोजी (पेडियाट्रिक युरोलोजी) भनिन्छ। यो सेवा नेपालमा अझै पनि सीमित मात्रामा मात्र उपलब्ध भए तापनि बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
बाल युरोलोजीले जन्मेदेखि १८ वर्षसम्मका बालबालिकामा देखिने मिर्गौला, पिसाबको नली, पिसाबको थैली तथा यौनाङ्ग सम्बन्धी रोगहरूको निदान र उपचार गर्दछ।
डा. चौधरीका अनुसार धेरै अभिभावकले बच्चालाई पिसाबसम्बन्धी समस्या हुँदा त्यसलाई सामान्य सङ्क्रमण वा सानो समस्या ठानेर बेवास्ता गर्ने गर्छन्। तर, यस्ता समस्याले दीर्घकालीन रूपमा मिर्गौलालाई गम्भीर क्षति पुर्याउन सक्छ।
मिर्गौलामा पानी जम्ने (हाइड्रोनेफ्रोसिस), पिसाबको नलीमा अवरोध हुने (पोस्टेरियर युरेथ्रल भल्भ), पिसाबको प्वाल असामान्य स्थानमा हुने (हाइपोस्पाडियास), मिर्गौलाको ट्युमर, पिसाबमा बारम्बार सङ्क्रमण हुने तथा लिङ्ग पहिचानमा समस्या हुने (डिसअर्डर अफ सेक्सुअल डेभलपमेन्ट–डीएसडी) जस्ता जटिल रोगहरू बाल युरोलोजी अन्तर्गत पर्दछन्।
आधुनिक प्रविधिको विकाससँगै अहिले गर्भावस्थामै बच्चाका धेरै स्वास्थ्य समस्या पहिचान गर्न सम्भव भएको छ। गर्भावस्थाको करिब २० हप्तापछि गरिने ‘एनोमली स्क्यान’ मार्फत बच्चाको शारीरिक विकासको विस्तृत मूल्याङ्कन गर्न सकिन्छ।
यस स्क्यानबाट मिर्गौलामा पानी जमेको छ कि छैन, पिसाबको थैलीको विकास सामान्य छ कि छैन, आन्द्रा वा अन्य अङ्गमा समस्या छ कि छैन भन्ने कुरा पत्ता लाग्छ। डा. चौधरीका अनुसार गर्भावस्थामा कुनै समस्या देखियो भन्दैमा बच्चा जन्माउनै हुँदैन भन्ने धारणा गलत हो, किनभने धेरैजसो अवस्थामा जन्मपछि शल्यक्रिया गरेर बच्चालाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ।
नेपालमा पहिले यस्ता रोगहरूको पहिचान ढिलो हुने गरेको भए पनि अहिले सरकारी अस्पतालहरूमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि प्रारम्भिक पहिचान सहज बन्दै गएको छ।
बाल मूत्ररोगका धेरै समस्याले प्रत्यक्ष रूपमा मिर्गौलालाई असर गर्छन्। विशेषगरी पिसाबको नलीमा अवरोध भएमा पिसाब सामान्य रूपमा बाहिर ननिस्की मिर्गौलातर्फ फर्किन सक्छ, जसले मिर्गौलामा दबाब बढाएर स्थायी क्षति पुर्याउँछ। पोस्टेरियर युरेथ्रल भल्भ नामक रोगमा पिसाबको नलीभित्र पर्दाजस्तो अवरोध हुन्छ, जसले बच्चाको दुवै मिर्गौलालाई क्षति पुर्याउन सक्छ।
यदि यो रोग समयमै पत्ता लाग्यो भने शल्यक्रियामार्फत समस्या समाधान गर्न सकिन्छ। त्यसैगरी हाइड्रोनेफ्रोसिस अर्थात् मिर्गौलामा पानी जम्ने समस्या पनि उपचारविहीन अवस्थामा छाडिए मिर्गौलाको कार्यक्षमता घट्दै जान्छ। समयमै शल्यक्रिया गरेर मिर्गौला जोगाउन सकिने भएकाले प्रारम्भिक निदान अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
बाल युरोलोजीका धेरै रोग समयमै उपचार गरेमा भविष्यमा मिर्गौला प्रत्यारोपणसम्मको जटिल अवस्था आउन नदिन सकिन्छ। नेपालमा एउटा मिर्गौला प्रत्यारोपण गर्न लाखौँ रुपैयाँ खर्च लाग्ने र उपयुक्त दाता पनि सहजै नपाइने अवस्था रहेको हुनाले प्रारम्भिक उपचारलाई प्राथमिकता दिनु नै बुद्धिमानी हुन्छ। समयमै शल्यक्रिया गरेर मिर्गौला जोगियो भने बच्चाको भविष्य सुरक्षित हुन्छ।
बालबालिकाको उपचारलाई वयस्कको उपचारसँग तुलना गर्न मिल्दैन, किनभने बालबालिका वयस्कको सानो संस्करण होइनन् र उनीहरूको शरीरले काम गर्ने तरिका नै फरक हुन्छ। उनीहरूको शरीरको बनावट, शारीरिक प्रणाली, मानसिक अवस्था र औषधिको प्रतिक्रिया सबै फरक हुन्छ।
उदाहरणका लागि, वयस्क मानिसको शरीरमा करिब पाँच लिटर रगत हुन्छ भने नवजात शिशुमा करिब २५० देखि ३०० मिलिलिटर मात्र रगत हुन्छ, त्यसैले थोरै रगत बगे पनि बच्चाको अवस्था गम्भीर हुन सक्छ। शल्यक्रियाको क्रममा अपरेशन थिएटरको तापक्रम वयस्कका लागि चिसो उपयुक्त भए पनि नवजात शिशुका लागि न्यानो वातावरण आवश्यक पर्छ।
बालबालिकाको सफल उपचारका लागि बाल विशेषज्ञ चिकित्सक, बाल एनेस्थेसियोलोजिस्ट, प्रशिक्षित नर्स तथा विशेष उपकरण आवश्यक पर्ने हुनाले सम्भव भएसम्म बाल अस्पतालमै शल्यक्रिया गराउनु उपयुक्त हुन्छ।
बाल शल्यक्रियामा प्रत्येक मिलिलिटर तरल पदार्थ तथा रगतको मात्रा गणना गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। अर्कोतर्फ, पछिल्लो समय बालबालिकामा जंक फुडको बढ्दो प्रयोगले पनि स्वास्थ्य समस्या बढाएको चिकित्सकहरूको निष्कर्ष छ।
कुर्कुरे, चाउचाउ, चकलेट, बिस्कुट, कोल्ड ड्रिङ्क्स जस्ता अस्वस्थकर खानाले कब्जियत, ग्यास्ट्रिक तथा पाचन प्रणालीका विभिन्न समस्या निम्त्याउने गरेको छ। बाल शल्यचिकित्सा विभागमा आउने धेरै बिरामीहरू पर्याप्त पानी नखाने र पौष्टिक खाना कम खाने बानीका कारण कब्जियतको समस्याबाट पीडित हुने गरेका छन्।
बाल युरोलोजीको अर्को संवेदनशील विषय लिङ्ग पहिचानमा देखिने समस्या (डीएसडी) हो, जसमा बच्चा जन्मिँदा यौनाङ्ग स्पष्ट नहुँदा पुरुष वा महिला भनेर छुट्याउन कठिन हुन्छ। यस्तो अवस्थामा विभिन्न परीक्षण गरेर शरीरको भित्री बनावट तथा गुणसूत्रको अध्ययन गरी विशेषज्ञ टोली र अभिभावकको निर्णयका आधारमा उपचार प्रक्रिया अघि बढाइन्छ।
नेपालजस्तो समाजमा यस्ता विषय अझै संवेदनशील रहेकाले अभिभावकलाई मनोसामाजिक परामर्शको पनि आवश्यकता पर्छ। बाल मूत्ररोगका सबै समस्या रोक्न सम्भव नभए पनि गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गर्ने, धूम्रपान र मदिरा सेवनबाट टाढा रहने, चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्ने तथा जन्मपछि बच्चाको स्वास्थ्यमा असामान्यता देखिए तुरुन्त परीक्षण गराउने बानीले धेरै जोखिम कम गर्न सक्छ।
बालबालिकाले आफ्नो समस्या स्पष्ट रूपमा भन्न नसक्ने भएकाले अभिभावकहरू केही सामान्य लक्षणप्रति सचेत हुन आवश्यक छ। बच्चाले पिसाब फेर्न अत्यधिक बल गर्नुपर्ने, पिसाबको धार कमजोर हुने, बारम्बार पिसाब सङ्क्रमण भइरहने, पिसाब गर्दा रुने, पिसाबमा रगत देखिने, बारम्बार उच्च ज्वरो आउने, पेटमा असामान्य डल्लो देखिने वा लामो समयसम्म पिसाब रोकिने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।
विशेषगरी बालिकाहरूमा पिसाब सङ्क्रमणको समस्या बढी देखिने गर्छ, जसले मिर्गौलासम्म असर पुर्याउन सक्छ। बालबालिका भविष्यका जनशक्ति र राष्ट्र निर्माणका आधार भएकाले उनीहरूको स्वास्थ्यमा लगानी गर्नु आवश्यक छ।
गर्भावस्थादेखि नै नियमित जाँच गराउने, शङ्का लागे विशेषज्ञको सल्लाह लिने र बच्चाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गर्नाले नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार तयार हुन्छ।







डिसी नेपाल







Facebook Comment