सभामुख अर्यालद्वारा मछिन्द्रनाथको भोटो जात्राको शुभकामना
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मछिन्द्रनाथको भोटो जात्राको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सभामुख अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै नेपालको प्राचीन र गौरवशाली सांस्कृतिक सम्पदाका रूपमा परिचित मछिन्द्रनाथको जात्राले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक एकताको अनुपम सन्देश प्रवाह गर्दै आएको बताएका छन्।
“शताब्दीयौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यस जात्राले नेपाली समाजको मौलिक पहिचान, सांस्कृतिक विविधता र साझा सभ्यतालाई सुदृढ बनाएको छ,” शुभकामना सन्देशमा भनिएको छ। सभामुख अर्यालले यस अवसरले सबैलाई आफ्नो अमूल्य सांस्कृतिक धरोहरको संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले मछिन्द्रनाथको कृपाले सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति, सहकाल, समृद्धि तथा राष्ट्रिय एकता कायम रहोस् भन्ने कामनासमेत गरेका छन्। सभामुख अर्यालले मछिन्द्रनाथको भोटो जात्रा–२०८३ को सफल आयोजनाका लागि सम्बन्धित सम्पूर्ण निकाय, समुदाय तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सबैमा पुनः शुभकामना दिएका छन्।







डिसी नेपाल







Facebook Comment