ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका होइनौं, सीमा विवाद प्रमाणका आधारमा समाधान गर्छौं : प्रधानमन्त्री बालेन

डिसी नेपाल
७ असार २०८३ १७:५९

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले भारतसँगको सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने टिप्पणी गलत रहेको बताएका छन्। उनले नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेको दाबी गर्दै छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गरिने स्पष्ट पारे।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आफूले व्यक्त गरेको भनाइबारे स्पष्टीकरण दिएका हुन्।

‘हामीसँग कालापानी र लिपुलेकका प्रमाण छन्। आवश्यक परे ब्रिटिस शासनकालका अभिलेख र प्रमाण पनि प्रस्तुत गर्न सक्छौँ भनेका हौँ,’ उनले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ।’

उनले नेपाल आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट रहेको उल्लेख गर्दै सीमा विवाद तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्न प्रतिबद्ध रहेको बताए।

‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ। हामीसँग प्रमाण छ,’ उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि शंका गर्नुपर्ने कारण छैन।’

हामी लोकल होइन, एक्सप्रेस गाडी हौँ

प्रधानमन्त्री शाहले आफ्नो मन्तव्य “नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ” भन्ने वाक्यबाट सुरु गरेका थिए।

उनले सरकार सञ्चालन र राजनीतिक यात्रालाई गाडीसँग तुलना गर्दै पछिल्ला दिनहरूमा आफूहरूलाई ‘ब्रेक’ लगाउनुपर्ने सुझावहरू आइरहेको उल्लेख गरे। तर वर्तमान सरकार रास्वपाको राजनीतिक अभियान सामान्य गतिमा चल्ने ‘लोकल गाडी’ नभई निश्चित गन्तव्य बोकेको ‘एक्सप्रेस गाडी’ भएको टिप्पणी गरे।

‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि चाहिन्छ भनेर धेरैले सुझाव दिनुभएको छ। लोकल रोडमा हिँड्दा त्यो ठीक पनि हो,’ उनले भने, ‘तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो। यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यभन्दा अगाडि ब्रेक लाग्नुपर्दैन।’

उनले आफ्नो नेतृत्वको सरकार अनियन्त्रित नभएको स्पष्ट पार्दै निर्धारित लक्ष्य हासिल गर्ने दिशामा केन्द्रित रहेको बताए।

प्रधानमन्त्री शाहको यो अभिव्यक्ति रास्वपाको राजनीतिक गति, परिवर्तनको एजेन्डा र सरकारको कार्यशैलीप्रतिको आत्मविश्वासका रूपमा हेरिएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भई शुभकामना मन्तव्य राखिरहेका छन् भने महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक कार्यदिशा र नेतृत्व चयनसम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *