रास्वपा महाधिवेशनको बन्दसत्र आज: प्रतिवेदनमाथि छलफल र उम्मेदवारी दर्ता हुँदै, भोलि मतदान हुने

डिसी नेपाल
८ असार २०८३ ७:३२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहानदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ।

शनिबार गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रका साथै नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया अगाडि बढाउन लागिएको हो। बन्दसत्र व्यवस्थापनका लागि प्रदर्शनी केन्द्रमा रहेका तीनवटा ठूला हलमध्ये दुईवटा हललाई बन्दसत्र सञ्चालन गर्न प्रयोग गरिएको छ भने बाँकी एउटा हलमा प्रतिनिधिहरूका लागि खाजा र खानाको व्यवस्था मिलाइएको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दुवै दिन महाधिवेशनमा सहभागी हुने कुल चार हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूका लागि सोही स्थानमा खानाको पूर्ण व्यवस्थापन गरिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सार्वजनिक गर्नुभएको कार्यतालिका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ र त्यसमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल हुनेछ। त्यसलगत्तै बिहान ९:०० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरानेछन्।

बिहान १०:०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने १०:४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको प्रस्ताव प्रस्तुत गरी छलफल र अनुमोदन गराउने कार्यक्रम रहेको छ।

यसैगरी, बिहान ११:४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्, जसमाथि छलफल पश्चात् अनुमोदन गरिनेछ। दिउँसो १२:४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन् र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।

दिउँसो १:०० बजेको दिवाभोजपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी आधिकारिक जानकारी गराउँदै तालिका प्रकाशन गर्नेछ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १:०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण सुरु गरिनेछ।

इच्छुक उम्मेदवारहरूका लागि दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने साँझ ६:०० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

त्यसपछि बेलुका ६:०० बजेदेखि ७:०० बजेसम्म उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय दिइनेछ र ७:०० बजेदेखि ९:०० बजेसम्म ती दाबीविरोधहरूमाथि आयोगले जाँचबुझ गर्नेछ। उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ९:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ भने राति ११:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

महाधिवेशनको मुख्य आकर्षक मानिएको नेतृत्व चयनका लागि असार ९ गते मङ्गलवार बिहान ८:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म पहिलो चरणको मतदान प्रक्रिया सञ्चालन हुनेछ। यस निर्वाचनमार्फत एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन्।

मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा गरिनेछ, जसको लगत्तै आवश्यकता अनुसार दोस्रो चरणको मतदान प्रक्रिया अगाडि बढाइने निर्वाचन आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *