रास्वपा महाधिवेशन: भरतपुरमा प्रतिनिधि परिचयपत्र वितरण सुरु, नौ छुट्टाछुट्टै काउन्टरबाट वितरण गरिँदै

डिसी नेपाल
९ असार २०८३ ११:३६

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छ।

महाधिवेशनको बन्दसत्रलाई व्यवस्थित र छिटो छरितो ढंगले अगाडि बढाउने उद्देश्यले विभिन्न नौ वटा छुट्टाछुट्टै स्थानबाट प्रतिनिधि परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।

रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट आएका प्रतिनिधिहरूको सहजताका लागि सातवटै प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूलाई अलगअलग काउन्टरमार्फत परिचयपत्र वितरण भइरहेको छ।

अन्तिम समयमा प्रतिनिधिको टुंगाे लागेपछि स्वचालित (अटोमेटेड) प्रणालीबाट परिचयपत्र छपाइ गर्नुपरेकाले वितरण कार्यमा केही ढिलाइ हुन पुगेको आयोजक जिल्ला सभापति खनालले स्पष्ट पारेका छन्।

यो परिचयपत्र वितरणको काम सम्पन्न हुनासाथ महाधिवेशनको औपचारिक बन्दसत्र सुरु हुनेछ। रास्वपाको बहुप्रतीक्षित बन्दसत्र चितवनको भरतपुरस्थित उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *