रास्वपाको प्रथम महाधिवेशन: प्राविधिक कारणले रोकिएको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुँदै, यस्तो छ कार्यतालिका

डिसी नेपाल
९ असार २०८३ १२:१२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र आज दिउँसो २:०० बजेदेखि सुरु हुने भएको छ।

यसअघि सोमबार बिहान ८:३० बजेदेखि नै सञ्चालन गर्ने भनिएको बन्दसत्र केही प्राविधिक कारणले गर्दा एक दिन ढिलाइ हुन पुगेको हो। रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार विभिन्न प्रदेशहरूबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्न र स्वचालित प्रणालीबाट महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्न बढी समय लागेकाले बन्दसत्रको समय केही पछि सरेको हो।

हाल चितवनमा प्रतिनिधि परिचयपत्र वितरण कार्य तीव्र गतिमा भइरहेको र यो कार्य सकिएलगत्तै पूर्ववत् तालिकाअनुसार नै बन्दसत्रका बाँकी प्रक्रियाहरू अगाडि बढ्नेछन्।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआतमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् र त्यसमाथि छलफल गरिनेछ।

त्यसलगत्तै कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छर बन्दसत्रमा सहमहामन्त्री विपीनकुमार आचार्यले विधानमाथिको संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव छुट्टाछुट्टै रूपमा प्रस्तुत गर्नेछन्।

यी सबै पदाधिकारीहरूबाट प्रस्तुत गरिएका महत्त्वपूर्ण प्रस्तावहरू बन्दसत्रबाट पारित भएपछि मात्रै पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् र त्यसमाथि विस्तृत छलफल चलाइनेछ।

सोही क्रममा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै महाधिवेशन आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई सुम्पिने प्रस्ताव समेत अगाडि सार्नेछन्।

त्यसपछि मात्रै निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। गत आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा उद्घाटन गरिएको यो महाधिवेशनको बन्दसत्र भने भरतपुरकै उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *