बिचौलिया दीपक भट्टको बयानले तान्यो विष्णु पौडेललाई: ३० करोडको शंकास्पद सेयर र ‘नीतिगत डिल’ को भित्री रहस्य
काठमाडाैं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेपछि मुलुकको राजनीतिक र व्यापारिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।
पार्टीको आन्तरिक कार्यदलको कामको सिलसिलामा सुर्खेत पुगेका पौडेललाई विभागको निर्देशनमा नियन्त्रणमा लिई सोमबार साँझ नै बाँकेको नेपालगन्ज पुर्याइएको थियो।
त्यहाँबाट सडक मार्ग हुँदै काठमाडौँ ल्याइँदै गरेका पौडेललाई सुरुमा सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइने र त्यसपछि म्याद थपको कानुनी प्रक्रियाका लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर हुँदै विशेष अदालत लैजाने तयारी पूरा भएको छ।
यसअघि विभागले पौडेललाई पक्राउ गर्नुभन्दा ठीक अगाडि ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारेर सेयर कारोबार, शंकास्पद सम्पत्ति र वित्तीय दस्ताबेजसँग जोडिएका महत्त्वपूर्ण कागजात तथा उपकरणहरू नियन्त्रणमा लिएको थियो।
विष्णु पौडेलको यो अप्रत्याशित गिरफ्तारीको पछाडि पछिल्लो समय अर्बौंको वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परी डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका विवादित बिचौलिया एवं व्यवसायी दीपक भट्टसँगको गहिरो ‘अदृश्य व्यावसायिक साझेदारी’ मुख्य कडीका रूपमा बाहिर आएको छ।
विभाग र प्रहरीको अनुसन्धानका क्रममा भट्टले राजनीतिक दलहरू मिलाउने, सरकार फेरबदल गर्ने र आफू अनुकूलका मन्त्रीहरू नियुक्त गराउने खेलमा मुख्य भूमिका खेल्ने गरेको र सोही योजना अन्तर्गत नै पौडेललाई पटक-पटक अर्थमन्त्री बनाउन दबाब दिने गरेको तथ्यहरू फेला परेका छन्।
पौडेल अर्थमन्त्री भएका बेला भट्ट र उनी सम्बद्ध कम्पनीहरूलाई नीतिगत निर्णयमार्फत ठूलो व्यावसायिक लाभ पुर्याइएको र त्यसबापत पौडेलले अदृश्य रूपमा आर्थिक फाइदा लिने गरेको विभागको उच्च स्रोतको दाबी छ।
अनुसन्धानका क्रममा फेला परेका प्रमाण र बयान अनुसार, पूर्वअर्थमन्त्री पौडेलले एक प्रतिष्ठित व्यवसायीलाई आफ्नो राजनीतिक शक्तिको दबाब दिएर कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई अत्यन्तै सस्तो मूल्यमा बिक्री गर्न बाध्य पारेका थिए।
सस्तोमा सेयर दिलाइदिएबापत पौडेलले ती व्यवसायीलाई अर्थमन्त्रीको तहबाट नीतिगत रूपमा चार वटा ठुला फाइदा गराइदिने आश्वासन दिएको र तीमध्ये केही काम पौडेल अर्थमन्त्री भएकै बेला फत्ते गरिएको बयान समेत अनुसन्धान अधिकारीहरूले फेला पारेका छन्।
स्रोतका अनुसार भट्टको नाममा पौडेलले करिब ३० करोड रुपैयाँ बराबरको शंकास्पद सेयर लिएको र कतिपय नाफामूलक कम्पनीहरूमा पौडेलकै दबाबमा भट्टलाई साझेदार बनाएर करोडौँ रुपैयाँ लाभांश बुझ्ने गरेको समेत पुष्टि भएको छ।
यसरी बिचौलिया दीपक भट्ट जेल चलान भएको केही दिनभित्रै सोही प्रकरणको लहरो तानिँदै जाँदा एमालेका प्रभावशाली नेता पौडेलसम्म आइपुगेको हो। उता, आफ्ना उपाध्यक्ष पौडेलको पक्राउप्रति नेकपा एमालेले कडा आपत्ति जनाउँदै आकस्मिक बैठकहरू बोलाएको छ।
एमालेले आजै दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक र साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ।
ती बैठकहरूमा पौडेलको पक्राउलाई लिएर उत्पन्न परिस्थिति, सरकारको ‘प्रतिशोधपूर्ण कदम’ को प्रतिवाद र संसद्मा खेलिने आगामी रणनीतिक भूमिकाबारे एमालेले ठोस निर्णय लिने बताइएको छ।







डिसी नेपाल







Facebook Comment