सुदूरपश्चिम सरकारमा संकट: बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको चेतावनी

डिसी नेपाल
९ असार २०८३ १४:१६

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सभामा पेस गरेको वार्षिक बजेटलाई लिएर सत्तारूढ प्रमुख घटक नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ।

यथास्थितिमा उक्त बजेट कुनै पनि हालतमा पास हुन नसक्ने अडान राख्दै आएको एमालेले यदि बजेट संशोधन नगरी जबरजस्ती पारित गर्ने प्रयास गरिएमा सरकारलाई दिएको समर्थन नै फिर्ता लिने र सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सम्पन्न ११औँ पूर्ण बैठकले वर्तमान सरकारले ल्याएको बजेट पूर्ण रूपमा एकपक्षीय र एकलौटी भएको निष्कर्ष निकालेको छ। बजेट निर्माण गर्दा सरकारले सत्तारूढ गठबन्धनको अर्को मुख्य दल एमालेलाई पूर्ण रूपमा बेवास्ता गरेको बैठकको ठहर छ।

नेकपा एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा अहिलेकै अवस्थामा सरकारलाई समर्थन गरिरहन नसकिने उल्लेख गर्दै बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको स्पष्ट पारिएको छ।

धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न एमालेको उक्त महत्त्वपूर्ण बैठक प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा आयोजना गरिएको थियो।

प्रदेश सरकारको भविष्य र बजेटको विषयलाई लिएर निकै पेचिलो बनेको सो बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। एमालेको यो कडा निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारको निरन्तरता र बजेट पारित हुने प्रक्रियामाथि राजनीतिक संकटका बादल मडारिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *