मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

डिसी नेपाल
९ असार २०८३ १७:१९

भरतपुर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेकी छन्। मङ्गलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुगेकी मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन्। नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा अङ्कुर पौडेलले अस्पतालमा सिटिस्क्यान मेसिन आवश्यक रहेको भन्दै बजेटको व्यवस्था गरिदिन अनुरोध गरे। उनले चिकित्सक सहितको जनशक्ति व्यवस्थापन र भौतिक संरचना निर्माणमा पनि मन्त्रालयले सहयोग गर्ने अपेक्षा राखे।

प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि पहल भइरहेको सांसद ढकालले बताए। अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले सेवा लिँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *