प्रधानमन्त्री बालेन शाहको कार्यशैली तानाशाही भयो, आजको आवश्यकता वामपन्थी एकता हो: झलनाथ खनाल
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली तानाशाही भएको गम्भीर आरोप लगाएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेएका प्रधानमन्त्री शाह नेतृत्वको सरकारप्रति कडा आक्रोश व्यक्त गरेका हुन्।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै उनले देशलाई सही दिशामा अगाडि बढाउन र विद्यमान चुनौतीहरूको सामना गर्नका लागि आजको मुख्य आवश्यकता नै छरिएर रहेका वामपन्थी शक्तिहरूबीचको बलियो एकता भएकोमा जोड दिए।
समारोहमा जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै नेता खनालले भण्डारी एक सच्चा देशभक्त र दूरदर्शी नेता भएको जिकिर गरे।
यदि आज मदन भण्डारी जीवितै भइदिएको भए नेपालले भारतसँग विवादित महाकाली सम्झौता गर्नुपर्ने कुनै बाध्यता आउने थिएन र अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता समेत लिनुपर्ने परिस्थिति बन्ने थिएन भन्दै उनले राष्ट्रिय हितका मामिलामा दृढ रहन नसकेकोमा वर्तमान नेतृत्वको आलोचना गरे।
विगतमा गरिएका महाकाली सम्झौता र हाल कार्यान्वयनमा रहेको एमसीसी परियोजनाले देशको हितमा केही पनि नदिएको दाबी गर्दै नेता खनालले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि सबै देशभक्त र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।






डिसी नेपाल





Facebook Comment