मदन भण्डारीको भनाइ उद्धृत गर्दै माधव नेपालको टिप्पणी- ‘कुरा मात्र गरेर कम्युनिस्ट आन्दोलन सुध्रिँदैन’

डिसी नेपाल
१४ असार २०८३ १५:५७

काठमाडौं। नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केवल भावनाका कुरा गरेर मात्रै कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नसक्ने स्पष्ट पारेका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र ऐतिहासिक रूपमा देखिएका विसंगति, फुट र समस्याहरूको गम्भीर आत्मसमीक्षा गर्न अहिलेको मुख्य आवश्यकता रहेको औंल्याए।

यो आत्मसमीक्षा र समीक्षाको आवश्यकता कुनै एउटा दल विशेषका लागि मात्र नभई नेपालमा क्रियाशील रहेका सम्पूर्ण कम्युनिस्ट घटकहरूका लागि उत्तिकै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

सबै वामपन्थी दलहरूले आ-आफ्नो पार्टीभित्र निर्मम भएर आत्ममन्थन र आत्मचिन्तन गर्नुपर्ने भन्दै उनले त्यो मन्थनबाट सही निष्कर्षमा पुग्न सकेको खण्डमा मात्रै छरिएका कम्युनिस्टहरूलाई पुनः एक ठाउँमा ल्याउन सकिने मार्गचित्र प्रस्तुत गरे।

समारोहमा बोल्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि सबैभन्दा पहिला नेताहरूको मन र वैचारिक दृष्टिकोण मिल्नुपर्नेमा जोड दिए। जननेता मदन भण्डारीको भनाइ र शैलीलाई स्मरण गर्दै उनले भण्डारी सधैं भन्ने गरेको ‘कुराले चिउरा भिज्नेवाला छैन’ भन्ने मान्यतालाई आत्मसात् गर्न सबैलाई आग्रह गरे।

कुरा मात्रै गरेर राजनीतिक परिणाम नआउने तर्क गर्दै उनले चिउरा भिजाउनका लागि व्यावहारिक रूपमै कि त दही कि त दूध नै चाहिने अर्थात् ठोस कदम चाल्नुपर्ने विम्ब प्रस्तुत गरे।

तसर्थ, वर्तमान राजनीतिको यथार्थ धरातलमा टेकेर, विगतका गल्तीहरू स्वीकार गर्दै र सही निष्कर्षमा पुगेर व्यापक छलफल तथा बहसहरू चलाउनु नै अहिलेको उत्तम विकल्प भएको उनको जिकिर थियो। तत्कालका लागि पूर्ण एकता असम्भव भए पनि अहिले नै मिल्न सकिने न्यूनतम साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।

पछिल्लो समय सत्ता समीकरण र दलीय स्वार्थका कारण वामपन्थी दलहरूबीच दुरी बढिरहेका बेला पूर्वप्रधानमन्त्री नेपालले तत्कालै ठूलो कम्युनिस्ट एकता भइहाल्ने कुरामा भने संशय व्यक्त गर्नुभएको छ।

शीर्ष नेताहरूबीचको आपसी असमझदारी र विगतका कटुताहरू अझै बाँकी रहेकाले आजभोलि नै सबै कम्युनिस्ट पार्टीहरू मिलेर एउटै केन्द्र बन्ने कुनै सम्भावना आफूले नदेखेको उनले प्रष्ट पारे।

सोही मञ्चमा उपस्थित अन्य वामपन्थी नेताहरूले चुनावी तालमेल र वाम एकताका विषयमा बहस गरिरहँदा नेता नेपालले भने धरातलीय यथार्थ र सैद्धान्तिक स्पष्टता बिना गरिने हतारोको एकता टिकाउ नहुने भन्दै नेतृत्वलाई गम्भीर बन्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *