दुर्गम गाउँबाट विश्व जोड्ने सपना : अर्जुन तिम्सिना र उनको ‘अब्रोडखबर’ अभियान
काठमाडौं । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–४ को एक निम्न वर्गीय परिवारमा जन्मिएका अर्जुन तिम्सिना अहिले सयौं विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन्। भौगोलिक रूपमा दुर्गम ठाउँमा हुर्किए पनि सानैदेखि अध्ययनमा अब्बल र सहयोगी स्वभावका अर्जुनले आफ्नो मेहनत र दृढताका बलमा कठिन परिस्थितिलाई चिर्दै सफलताको शिखर चुम्दै छन्।
घरको आर्थिक अवस्था कमजोर भए पनि परिवारको सहयोगमा उनले आफ्नो पढाइलाई निरन्तरता दिए। बाल्यकालमा भूकम्पले घर क्षतिग्रस्त भएको पीडा भोगेका अर्जुनमा समाजका लागि केही गर्ने हुटहुटी थियो, जसले उनलाई इन्जिनियर बन्ने सपना देखायो। यही अठोटका साथ निरन्तर मेहनत गरेर उनी पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा पूर्ण छात्रवृत्तिसहित आर्किटेक्चर पढ्ने अवसर प्राप्त गर्न सफल भए।
क्याम्पसमा अध्ययनरत रहँदा उनी आफ्नो पढाइमा मात्र सीमित रहेनन्, बरु विद्यार्थीहरूलाई जोड्ने र बलियो सम्पर्क सञ्जाल निर्माण गर्ने काममा सक्रिय रहे। उनले ‘पूर्वेली समाज, पुल्चोक’को अध्यक्षको जिम्मेवारी सम्हाले भने विद्यार्थीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन ‘नलेज पिक एकाडेमी’को स्थापना गरे। यसले हजारौं विद्यार्थीलाई होम ट्युसनमार्फत अध्ययनसँगै आम्दानीको बाटो खोलिदियो।
उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूले भोग्ने अन्योलता, सूचनाको अभाव र गलत मार्गनिर्देशनको समस्यालाई नजिकबाट नियालेका अर्जुनले यसैको समाधानका लागि ‘अब्रोडखबर’को अवधारणा अघि सारेका हुन्।
यस परियोजनाको उद्देश्यबारे अर्जुन भन्छन्, “हामी चाहन्छौं अब्रोडखबर विद्यार्थीहरूको विश्वास र रोजाइमा नम्बर १ बनोस्। सही जानकारी, वास्तविक अनुभव र आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थीले आफ्नो भविष्यको निर्णय आफैं गर्न सकून्।” विगत ९ महिनादेखि १० भन्दा बढीको टोलीसँग मिलेर काम गरिरहेका उनले अब्रोडखबरलाई विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विशेषज्ञहरूलाई जोड्ने भरपर्दो प्लेटफर्म बनाउने लक्ष्य राखेका छन्।
ओखलढुङ्गाको एउटा साधारण गाउँबाट सुरु भएको अर्जुनको यो यात्राले प्रमाणित गरेको छ कि, ठूलो परिवर्तन ल्याउन ठूलो स्रोत होइन, ठूलो उद्देश्यको आवश्यकता पर्छ। आज उनी र उनको टोली थप उन्नत डिजिटल सेवाहरू विस्तार गर्दै हजारौं विद्यार्थीलाई सही मार्ग देखाउने अभियानमा निरन्तर जुटिरहेका छन्।






डिसी नेपाल





Facebook Comment