सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
मोरङको ग्रामथान गाउँपालिका-७ कालाबन्जर चोकस्थित सडकमा नेताचोकबाट हरैँचातर्फ आउँदै गरेको को.२५ प ५३१४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक केराबारी गाउँपालिका-७ बस्ने ४५ वर्षीय टेक बहादुर घिमिरेको मृत्यु भएको छ। उक्त मोटरसाइकल अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोकिँदा टेक बहादुर उछिटिएर ना.५ ख ७६५८ नम्बरको टिपरमा समेत ठक्कर खाँदा उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित सडकमा लु.१ ख ८११६ नम्बरको ट्रकले डब्लुबि १४ डब्लु ८५२५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत पुर्वी बंगाल बस्ने २६ वर्षीय सुमन मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ घाराखोल्सास्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-०२६ च ५५९९ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने थाहा नगरपालिका-९ चित्लाङ घर भएका ४५ वर्षीय मुकुन्द झ्यारी मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






डिसी नेपाल





Facebook Comment