नेपाल प्रहरीमा व्यापक हेरफेर: ३ सय ६८ लेखा प्रमुखको एकैपटक सरुवा

डिसी नेपाल
१६ असार २०८३ ९:३७

काठमाडाैं। नेपाल प्रहरी प्रधान कार्यालयले प्रशासनिक सुधार र कार्यव्यवहारलाई चुस्त बनाउने उद्देश्यले ठूलो संख्यामा लेखा प्रमुखहरूको सरुवा गरेको छ।

देशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ३ सय ६८ जना लेखा प्रमुखहरूलाई एकैसाथ नयाँ जिम्मेवारी तोकिएको हो। प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको विशेष सिफारिसका आधारमा यो सरुवा सूची प्रकाशित गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार निश्चित अवधि पूरा गरिसकेका पुराना लेखा प्रमुखहरूलाई अन्य विभाग वा जिम्मेवारीमा पठाइएको छ भने आवश्यक मापदण्ड पूरा गरेका योग्य अधिकृतहरूलाई नयाँ लेखा प्रमुखको रूपमा भित्र्याइएको छ।

यसरी जिम्मेवारी हेरफेर हुनेहरूमा इन्स्पेक्टर (प्रहरी निरीक्षक) देखि असई (प्रहरी सहायक निरीक्षक) सम्मका अधिकारीहरू समावेश छन्।

प्रहरी संगठनभित्र आर्थिक पारदर्शिता कायम राख्न, आर्थिक अनुशासनलाई मजबुत बनाउन र एउटै स्थानमा लामो समय बस्दा आउन सक्ने प्रशासनिक शिथिलतालाई तोड्न यस्तो आवधिक सरुवा गर्ने नियमित अभ्यास रही आएको छ।

विशेष गरी आर्थिक कारोबार र लेखा प्रणाली हेर्ने अधिकारीहरूको सरुवामा आन्तरिक लेखापरीक्षण शाखाको प्रतिवेदन र कार्यसम्पादन मूल्यांकनलाई मुख्य आधार बनाइने गरिन्छ। यसपटकको व्यापक सरुवालाई पनि प्रहरी प्रशासनभित्र आर्थिक सुशासन र आर्थिक प्रणालीलाई थप पारदर्शी एवं प्रभावकारी बनाउने प्रयासको रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *