पुराना दललाई रास्वपाको धक्का: आरक्षणबाट होइन, प्रत्यक्ष प्रतिस्पर्धाबाटै चुनिए ५१ प्रतिशत महिला
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा एउटा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ। पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन्।
नेपालको राजनीतिक इतिहासमा संसद्मा प्रतिनिधित्व गर्ने यति ठूलो दलको केन्द्रीय समितिमा महिलाको बहुमत हुनुलाई राजनीतिमा आएको सकारात्मक र सुखद परिवर्तनका रूपमा हेरिएको छ।
यसअघि दलहरूमा महिला सहभागिताको विषय केवल भाषण र कागजमा मात्र सीमित रहने गरेको आरोप लाग्ने गर्थ्यो। तर, रास्वपाले महिलाहरूको सक्रिय सहभागितालाई व्यवहारमै उतारेर आफूलाई बधाईको पात्र बनाएको छ।
विभिन्न राजनीतिक दलका नेतृहरू र राजनीतिक विश्लेषकहरूले रास्वपाको यस कदमलाई अन्य पुराना र स्थापित दलहरूले समेत शिक्षाको रूपमा लिनुपर्ने धारणा राखेका छन्।
नेपालका प्रमुख राजनीतिक दलहरूले केन्द्रीय संरचनामा करिब ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रयास गरे पनि नेतृत्वको निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै कमजोर देखिन्छ।
नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा करिब ३३ प्रतिशत महिला सहभागिता पुगे पनि पदाधिकारी तहमा भने एक जना महिला मात्र समावेश भएकी छन्।
नेपाली कांग्रेसमा पनि विधानअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने प्रयास गरिएको भए पनि त्यो मुख्य रूपमा आरक्षण तथा समावेशी व्यवस्थामार्फत मात्र हासिल भएको देखिन्छ। यसको विपरीत, रास्वपामा भने महिलाको सहभागिता तुलनात्मक रूपमा बढी स्वस्फूर्त र प्रतिस्पर्धात्मक ढंगले अगाडि बढेको छ।
रास्वपाको यो नतिजाले नेतृत्व तहमा महिलाको सक्रिय उपस्थिति र स्वीकार्यता विस्तार भइरहेको संकेत गर्छ। रास्वपाकी नवनिर्वाचित केन्द्रीय सदस्य विनीता कठायतले नेपाल न्यूज बैँकसँगको टेलिफोन संवादमा यस पटकको निर्वाचनमा महिलाहरूले समानुपातिक प्रणालीमा मात्र सीमित नभई प्रत्यक्ष निर्वाचन लडेर आफ्नो क्षमता प्रदर्शन गरेको बताइन्।
उनले पहिले महिलाहरूलाई ‘सेफ साइड’ भनेर समानुपातिकमा धकेलिने गरेको स्मरण गर्दै यस पटक महिलाहरूले मनोनयनमा नजाने अठोटका साथ प्रत्यक्ष प्रतिस्पर्धामा होमिएर एकताबद्ध मिहिनेत गरेको स्पष्ट पारिन्।
कठायतका अनुसार, यो सफलता पुरुषको दयाभन्दा पनि महिलाहरूको आफ्नै सक्रियताको परिणाम हो। पार्टी सङ्गठनमा महिलाहरूले गरेको अथक मिहिनेतले नै ५१ प्रतिशत महिला केन्द्रीय सदस्य निर्वाचित हुन सम्भव भएको उनले बताइन्।
नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले निर्वाचन प्रणाली र राजनीतिक सहभागितामा जनताको उत्साहजनक उपस्थिति लोकतन्त्रका लागि निकै सकारात्मक रहेको उल्लेख गरेकी छन्।
सबै दलहरूले संविधानले तोकेको ३३ प्रतिशतभन्दा बढी स्थान सुनिश्चित गर्दै यसलाई अझै परिष्कृत बनाउँदै लैजानु स्वागतयोग्य हुने उनको भनाइ छ।
यस्तै, नेकपाकी नेतृ पम्फा भुसालले ५१ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिनु अत्यन्तै सकारात्मक पक्ष भएको बताउँदै रास्वपाको यो सांगठनिक पहल सराहनीय रहेको उल्लेख गरिन्। उनले आगामी दिनमा पार्टीका बाँकी प्रक्रिया र कार्यकारी संरचनालाई पनि यसै गरी व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती शाहीले रास्वपाको यो कदमलाई राजनीतिक सहभागिताका क्षेत्रमा ऐतिहासिक उपलब्धि भनेकी छन्।
यो महिलाका लागि मात्र नभएर नागरिक समान हुने अधिकारको लडाइँ भएको चर्चा गर्दै उनले ५१ प्रतिशत महिला जबसम्मा सबल हुन सक्दैनन्, तबसम्म न घर, न समाज, न त राष्ट्र नै बन्न सक्ने धारणा राखिन्।
नेतृ शाहीले रास्वपाले तयार पारेको यो आधारले भोलिका दिनमा महिलालाई पार्टीको उच्च कार्यकारी पदमा पुग्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनले महिला नेताहरूलाई अब यस उपलब्धिलाई चुनौतीका रूपमा आत्मसात् गर्दै आफ्नो क्षमता अभिवृद्धि गरी पार्टीको नेतृत्व लिन अघि बढ्न सुझाव समेत दिइन्।
अहिलेको समाजलाई यसले ठुलो सन्देश दिने र जनताले मत दिएर रास्वपामाथि देखाएको विश्वासले महिलाको राजनीतिक सहभागितालाई प्रमाणित गरेको उनको तर्क छ। यो प्रयासले अन्य राजनीतिक दलहरूलाई समेत आफ्नो संरचना सुधार गर्न दबाब सिर्जना गर्ने शाहीको विश्लेषण छ।
राजनीतिक विश्लेषक सौगात गौतमले रास्वपाको महाधिवेशनबाट देखिएको महिलाहरूको उत्साहजनक सहभागिता नेपाली राजनीतिमा एउटा कोसेढुङ्गा साबित हुने बताएका छन्।
संसद्को एउटा प्रमुख दलले स्थापित गरेको यो मानकले अन्य राजनीतिक दलहरूका लागि पनि सकारात्मक प्रभाव पार्ने उनको विश्लेषण छ।
समग्रमा, रास्वपाले आफ्नो महाधिवेशनमार्फत महिला सहभागिताको जुन उदाहरण प्रस्तुत गरेको छ, त्यसले नेपाली राजनीतिमा व्याप्त परम्परागत सोचलाई चिर्न मद्दत पुग्ने देखिन्छ। यो उपलब्धि रास्वपाको सफलता मात्र नभएर नेपालको समग्र राजनीतिक संस्कारमा सकारात्मक परिवर्तनको थालनीको रूपमा लिइएको छ।






डिसी नेपाल





Facebook Comment