संसद्मा विधेयकको चाङ : सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण र सहकारी ऐन संशोधन विधेयक आजै पारित गरिँदै
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक र जनसरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा विशेष समयको कार्यसूची सञ्चालन भइरहेको छ भने सदस्यहरूले पालैपालो आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।
आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने प्रारम्भिक कार्यसूची रहेको छ।
त्यसलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस विधेयकमाथि प्राप्त विभिन्न संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री गौतमले नै यसलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यसै गरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भनी संसद्मा प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएपछि अर्थमन्त्री डा. वाग्लेले विधेयक पारितका लागि प्रस्ताव गर्नेछन्।
बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। यस विधेयकमाथि सदनमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि मन्त्री रावलले नै यसलाई पारित गरियोस् भनी प्रस्ताव राख्नेछिन्।
बैठकको अन्तिम कार्यसूचीका रूपमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव ल्याउनेछिन्।
यस विधेयकमाथि संसद्मा प्राप्त भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि मन्त्री मेहताले विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेसँगै आजको बैठक सकिने कार्यसूची रहेको छ।






डिसी नेपाल





Facebook Comment