मधेश प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, प्रतिपक्षी दलद्वारा बजेट संशोधनको माग
जनकपुरधाम । बजेट संशोधनको माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन्।
बैठकको सुरुमै जनमत पार्टीका प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले सरकारको आलोचना गर्दै भने, ‘सरकारले एक करोडका नाममा टुक्रे योजनाहरू ल्याएर संघीयताको मर्ममाथि प्रहार गरेको छ।’ उनले बजेटमा व्यापक विकृति रहेको भन्दै नसच्चिएसम्म सदन चल्न नदिने अडान दोहोर्याए।
त्यस्तै, जसपा नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले बजेट संशोधन गरिनुपर्ने वा सो विषयमा छानबिन गर्न विशेष समिति गठन गरिनुपर्ने सर्त राखे।
प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधपछि सभामुख रामअशिष यादवले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका छन्।
यसअघि बुधबार पनि बजेटमाथि छलफलका लागि बोलाइएको बैठक प्रतिपक्षीको अवरोधका कारण सुरु हुन सकेको थिएन। १० मिनेटका लागि स्थगित गरिएको बुधबारको बैठक पुनः बस्न नसकेपछि आजका लागि सारिएको थियो।






डिसी नेपाल





Facebook Comment