सरकारद्वारा ८ प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सरुवाको निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै नेपाल प्रहरीका ८ जना उच्च अधिकारीहरूको पदस्थापन तथा सरुवा गरिएको बताएका छन्।
यस्तै सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए। सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।
यसैगरी शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने, गोरखापत्र संस्थानको महाप्रवन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको मन्त्री पोखरेलले बताए।
त्यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
मन्त्री पोखरेलका अनुसार सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ।






डिसी नेपाल





Facebook Comment