विश्व शक्ति संघर्षले नयाँ युद्धको खतरा बढायो : मोहनविक्रम सिंह
काठमाडौं। अखिल नेपाल बुद्धिजीवी सङ्घद्वारा काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रस्तुत गरेको अवधारणापत्र सार्वजनिक गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा अन्तर्राष्ट्रिय सहभागीहरूलाई स्वागत गर्दै अवधारणापत्रमा वर्तमान विश्व परिस्थितिलाई अत्यन्त तनावपूर्ण र द्वन्द्वग्रस्त भएको उल्लेख गरिएको छ। युक्रेन, गाजा, सुडान, म्यानमार, अफगानिस्तान लगायतका क्षेत्रमा जारी युद्ध र द्वन्द्वहरू तथा ताइवान, तिब्बत, भारत–पाकिस्तान सीमा क्षेत्र र भारत–चीन सीमामा देखिएको तनावले विश्वव्यापी सुरक्षा अवस्था जटिल बन्दै गएको टिप्पणी गरिएको छ।
अवधारणापत्रमा ती द्वन्द्वहरू कुनै पनि समय ठूलो स्तरको युद्ध वा आणविक संघर्षमा रूपान्तरण हुन सक्ने जोखिमप्रति चेतावनी दिइएको छ। यस सन्दर्भमा विश्वभरका शान्तिप्रेमी व्यक्ति र संस्थाहरूले युद्धको जोखिम न्यूनीकरण र दीर्घकालीन शान्ति स्थापनामा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
लेखमा युद्धको मूल कारणका रूपमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा र साम्राज्यवादी नीतिहरूलाई उल्लेख गर्दै ऐतिहासिक रूपमा विभिन्न प्रकारका शोषण र उत्पीडनले हिंसा र द्वन्द्वलाई जन्म दिएको तर्क प्रस्तुत गरिएको छ। साथै, उत्पीडनविरुद्धका संघर्षलाई ‘न्यायपूर्ण संघर्ष’ का रूपमा व्याख्या गर्दै सबै प्रकारका युद्धलाई एउटै दृष्टिले हेर्न नहुने धारणा राखिएको छ।
नेपालको सन्दर्भमा, अवधारणापत्रमा देशको ऐतिहासिक रूपमा कहिल्यै औपनिवेशिक शासनमा नपरेको उल्लेख गर्दै आधुनिक इतिहासका विभिन्न युद्धहरू तथा नेपाली सेनाको विभिन्न अन्तर्राष्ट्रिय युद्धमा सहभागिताको चर्चा गरिएको छ। साथै, वर्तमान राजनीतिक परिस्थितिमा नेपाल भविष्यमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको प्रभावका कारण सम्भावित द्वन्द्वमा तानिन सक्ने जोखिमप्रति सचेत रहनुपर्ने भनिएको छ।
संयुक्त राज्य अमेरिका र चीनबीचको बढ्दो रणनीतिक प्रतिस्पर्धालाई विश्व राजनीति प्रभावित गर्ने प्रमुख पक्षका रूपमा प्रस्तुत गर्दै इन्डो–प्यासिफिक रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता पहलहरू यसै प्रतिस्पर्धाको हिस्सा भएको दाबी गरिएको छ।
अवधारणापत्रमा नेपालमा हालैका राजनीतिक परिवर्तनहरू र बाह्य शक्तिहरूको प्रभावबारे पनि टिप्पणी गरिएको छ। नेपालले सबै प्रमुख शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धामा देश प्रयोग हुन नहुने चेतावनी दिइएको छ।
विश्वभर युद्ध, साम्राज्यवाद र फासीवादी प्रवृत्तिहरूको विरोध गर्दै शान्तिपूर्ण, जनमुखी र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा आधारित आन्दोलन आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment