काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आज शुक्रबार आफ्नो समूहको विशेष बैठक बोलाएका छन् । देउवा पक्षीय नेताहरूको छलफलका लागि दिउँसो २ बजे काठमाडौंको गोल्फुटारस्थित खड्का निवासमा बैठक आह्वान गरिएको हो ।

बैठकमा पार्टीका निवर्तमान पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू तथा शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ । मुख्यतया १४औँ महाधिवेशनबाट निर्वाचित समूहको राष्ट्रिय भेलाको मिति र तयारीका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो । यसअघि नै उक्त समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेलाहरू सम्पन्न गरिसकेको छ । अब राष्ट्रिय भेलाको मिति तय गरी पार्टीका भावी रणनीति तथा सांगठनिक विषयमा औपचारिक निर्णय लिने तयारी स्वरूप आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ ।

हालैका दिनहरूमा देउवा पक्षका नेताहरूले विभिन्न चरणमा छुट्टाछुट्टै छलफल गर्दै आएका छन् । यसअघि नेता विमलेन्द्र निधिको निवासमा भएको भेटवार्तामा समेत राष्ट्रिय भेला र पार्टीको आगामी कार्यदिशाबारे प्रारम्भिक कुराकानी भएको थियो । १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको भेलालाई व्यवस्थित बनाउने र आगामी दिनमा समूहको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा आजको बैठकमा विशेष छलफल हुनेछ ।