नयाँ शासकीय शैलीको सुरुवात कि निरन्तरता? सरकारको १०० दिनबारे बाबुराम भट्टराईको मिश्रित विश्लेषण

डिसी नेपाल
१९ असार २०८३ १३:५२

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो विश्लेषण साझा गर्दै उनले परम्परागत संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा यो अवधिमा कुनै उल्लेखनीय उपलब्धि नदेखिए पनि पुरानो र स्थापित शासकीय शैलीलाई परिवर्तन गर्ने प्रयासका रूपमा भने यसलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।

सरकारको हनिमुन पिरियड अर्थात् सय दिन पूरा भएको अवसरमा समाजका विभिन्न तप्का र आ-आफ्नो दृष्टिकोणअनुसार फरक-फरक मूल्यांकन हुनु स्वाभाविक रहेको उनको भनाइ छ।

यस सन्दर्भमा उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने प्रसिद्ध सुक्ति स्मरण गर्दै सरकारलाई हेर्ने चस्मा अनुसार नै समीक्षा पनि फरक हुन सक्ने प्रष्ट पारेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईका अनुसार दशकौंदेखि चलिआएको पुरानै संसदीय राजनीतिको निरन्तरता खोज्नेहरूका लागि सरकारका यी सय दिन खासै उपलब्धिमूलक नदेखिन सक्छन्।

बरु स्थापित राजनीतिक शक्ति र शैली भत्किन थालेको आभास पाएर कतिपय पुराना राजनीतिक खेलाडीहरूमा यसप्रति आशंका र चिन्ता समेत उत्पन्न भएको हुन सक्ने उनले औंल्याएका छन्।

तर यसलाई अलि बृहत् कोणबाट अर्थात् युगको परिवर्तन, नेपाली राजनीतिको पुस्तान्तरण तथा गैरराजनीतिक पृष्ठभूमिबाट आएको नयाँ पुस्ताको नेतृत्वजस्ता आधारभूत पक्षहरूलाई मानेर हेर्ने हो भने फरक चित्र देखिने उनको तर्क छ।

यो अवधिलाई पुरानो शासकीय शैलीको ध्वंस र नयाँ शैलीको निर्माणको एउटा प्रारम्भिक प्रयासका रूपमा बुझ्नुपर्ने भन्दै डा. भट्टराईले नयाँ सरकारलाई अहिल्यै असफल घोषणा गर्नुभन्दा केही समय ‘शंकाको लाभ’ दिनु नै बढी न्यायोचित हुने धारणा राखेका छन्।

नेपालको विद्यमान जटिल भूराजनीतिक अवस्थिति, वैदेशिक परनिर्भरताले जकडिएको अर्थतन्त्र र मुलुकले खोजेको तीव्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकता निकै चुनौतीपूर्ण रहेको उनको विश्लेषण छ।

यस्तो संवेदनशील पृष्ठभूमिमा सरकारका पहिलो सय दिनलाई मूलतः एउटा सिकाइको अवधिका रूपमा लिनुपर्ने सुझाव भट्टराईले दिएका छन्।

प्रारम्भिक दिनहरूमा देखिएका कमीकमजोरी र अनुभवलाई थाती राख्दै आगामी दिनमा सरकार अझ बढी गम्भीरता, कडा मेहनत र देश विकासको स्पष्ट कार्यदिशासहित अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *