कर्णाली पनि नेपालकै अंग हो, नागरिकमाथि विभेद बन्द गरियोस्: सांसद ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा भएको यात्रुवाहक गाडी दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा दुर्घटना मात्र नभई सरकारको चरम गैरजिम्मेवारी र असफलता देखेको बताए।
उनले असार १८ गते कर्णाली नदीमा गाडी खस्दा यात्रुहरू नदीको बीचमा र भीरमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसक्दा उनीहरूको ज्यान गएको भन्दै दुःख व्यक्त गरे।
संसद्मा आक्रोश पोख्दै उनले भने, ‘मैले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु। कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, उद्धार आएन।’
सांसद शाहीले दुर्घटनाको समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि मात्र उडिरहेको गम्भीर दाबी गरे।
स्थानीय उद्धार टोलीसँग आवश्यक स्रोत-साधनको अभाव रहेको उल्लेख गर्दै उनले प्रादेशिक राजधानी सुर्खेतबाट घटनास्थलमा तत्काल उद्धारका लागि एउटा हेलिकप्टर समेत पठाउन नसक्नु सरकारको लाचारी र गम्भीर असफलता भएको बताए।
‘मैले तत्काल फोन गरेर जानकारी गराएको थिएँ। उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थलमा जानका लागि एउटा हेलिकप्टर पठाउने क्षमता पनि सरकारसँग थिएन, सरकार आखिर कसका लागि काम गरिरहेको छ?’ भन्दै उनले सरकारमाथि प्रश्नको वर्षा गरे।
आफ्नो सम्बोधनका क्रममा सांसद शाहीले राज्यले कर्णालीका नागरिकमाथि सधैँ विभेद गर्दै आएको आरोप समेत लगाए। उनले कर्णाली पनि नेपालकै अभिन्न अंग भएको स्मरण गराउँदै नागरिकको जीवन रक्षाका लागि तत्काल संवेदनशीलता देखाउन र दुर्गम क्षेत्रमा भरपर्दो उद्धार संयन्त्रको व्यवस्था गर्न सरकारसँग माग गरे।






डिसी नेपाल





Facebook Comment