प्रतिनिधिसभा बैठक: ठोरी नाकाको समस्यादेखि कर्णाली दुर्घटना र १०० दिने कार्यकालको तीव्र आलोचना
काठमाडौं। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विभिन्न समसामयिक मुद्दाहरूलाई लिएर सरकारको आलोचना गरेका छन्।
संसद्मा सीमा समस्या, पर्यटन व्यवसायमा परेको असर, सरकारको १०० दिने कार्यकालको असफलता र कर्णालीमा भएको दुःखद बस दुर्घटनामा राज्यको लाचारीपनलाई लिएर सरकारमाथि चौतर्फी प्रश्न उठाइएको छ।
बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधन प्रवेशमा रोक लगाइएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी पछिल्लो अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा समस्या देखिन थालेको र त्यसको प्रत्यक्ष असर ठोरी नाकामा परेको उनको दाबी थियो।
भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारी नहुँदा आफ्नै प्रशासनिक कमजोरीका कारण पर्यटन व्यवसाय धराशायी बनेको भन्दै उनले सभामुखमार्फत गृह मन्त्रालयलाई तत्काल कर्मचारी व्यवस्थापन र सीमा समस्या समाधान गर्न माग गरिन्।
यसका साथै सांसद थपलियाले वर्तमान सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा असफल भएको जिकिर गरिन्। सरकारले १०० बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता जनाए पनि व्यवहारमा जनताले महँगी र निराशा मात्रै भोगेको उनको आरोप थियो।
जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको र सुकुम्बासीहरू अझै पनि अलपत्र परेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्धको कारबाही निष्पक्ष र कानुनी हुनुपर्ने तथा नागरिकसँग प्रतिशोध लिन नमिल्ने स्पष्ट पारिन्।
त्यस्तै, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीवासीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन्।
दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्य संयन्त्रबाट घटनाको यथार्थ विवरण सार्वजनिक हुन नसक्नु दुःखद भएको भन्दै उनले कर्णालीका सडकहरू अहिले ‘मृत्यु मार्ग’ जस्ता बनेको टिप्पणी गरिन्।
संसद्मा आक्रोश व्यक्त गर्दै उनले भनिन्, “कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ। मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो? के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो?” उनले यसलाई सामान्य दुर्घटना नभई राज्यको चरम लापरबाही ठहर गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र सडक सुरक्षा सुनिश्चित गर्न तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको लाचारीपनको तीव्र आलोचना गरे।
असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा र भीरमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहँदा पनि समयमै उद्धार हुन नसक्नु राज्यको गम्भीर असफलता भएको उनको भनाइ थियो।
सांसद शाहीले संसद्मा भने, “मैले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु। मानिसहरू बाँच्नका लागि संघर्ष गरिरहेका थिए, तर उनीहरूको जीवन सकियो, उद्धार आएन।”
उनले दुर्घटनाका बेला आकाशमा देखिएको हेलिकप्टर उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि मात्र उडेको गम्भीर आरोप समेत लगाए। प्रादेशिक राजधानी सुर्खेतबाट घटनास्थलमा एउटा हेलिकप्टर समेत पठाउन नसक्ने सरकार कसका लागि काम गरिरहेको छ भनी प्रश्न गर्दै उनले कर्णालीका नागरिकमाथि राज्यले गरिरहेको विभेद बन्द गर्न र कर्णालीलाई पनि नेपालको अभिन्न अंगका रूपमा व्यवहार गर्न माग गरे।






डिसी नेपाल





Facebook Comment