कांग्रेस विवाद उत्कर्षमा: रणनीति बुन्न देउवा समूहको बैठक चुनदेवीमा

डिसी नेपाल
२२ असार २०८३ १४:५३

काठमाडौं। नेपाली कांग्रेसभित्रको बढ्दो आन्तरिक कलह र आगामी रणनीतिका विषयमा छलफल गर्न शेरबहादुर देउवा समूहको महत्वपूर्ण बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसिरहेकाे छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित यस समूहका पदाधिकारी, सदस्यहरू तथा पूर्वपदाधिकारी र पूर्वसदस्यहरूको सहभागिता रहेको छ।

सोमबारबाटै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको नयाँ सम्पर्क कार्यालयमा काठमाडौंमा उपलब्ध नेताहरू भेला भएर छलफलमा जुटेका हुन्। नेता डा. प्रकाशशरण महतका अनुसार यस बैठकमा मुख्य गरी पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र त्यसलाई चिर्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा गहन मन्थन हुनेछ।

यो विस्तारित बैठक सकिएलगत्तै देउवा समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने आन्तरिक तयारी समेत तीव्र पारेको छ। तर, उक्त देशव्यापी भेला अगाडि नै पार्टीको संस्थापन पक्षले आफूहरूले अघि सारेका असहमति र मागहरूका बारेमा गम्भीरतापूर्वक छलफल अगाडि बढाउनुपर्ने अडान यस समूहले राखेको छ।

नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक शक्तिको खिचातानी र मतभेदका विषयमा दुवै पक्षबिच पटक-पटक संवाद भए पनि अहिलेसम्म कुनै ठोस सहमति वा निष्कर्ष निस्कन सकेको छैन। देउवा पक्षले उठाएका कतिपय मागहरू सम्बोधन गर्ने सवालमा पार्टीको विद्यमान विधान बाधक रहेको तर्क संस्थापन पक्षले गर्दै आएको छ।

अर्कातर्फ, आफूहरूले पार्टी हितका लागि राखेका जायज माग र सरोकारका विषयमा पार्टी सभापति गगन थापा पटक्कै गम्भीर नभएको गम्भीर आरोप इतर समूहका नेताहरूले लगाउँदै आएका छन्, जसका कारण काङ्ग्रेसभित्रको आन्तरिक विवाद झन् सङ्कटपूर्ण बन्दै गएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *