यूएईद्वारा १११ जना नेपाली कैदीबन्दीलाई शाही माफी

डिसी नेपाल
२३ असार २०८३ १२:१८

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले इद उल अजहा (बकरइद) को पावन अवसरमा विभिन्न कारागारमा रहेका १११ जना नेपाली कैदीबन्दीहरूलाई शाही माफी दिएको छ।

यूएई सरकारको यस सहृदयतापूर्ण निर्णयप्रति नेपाल सरकारले आफ्नो हार्दिक कृतज्ञता तथा उच्च सम्मान प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यूएई सरकारको यस कदमको स्वागत गरेको हो।

मन्त्रालयले यस शाही माफीलाई नेपाल र यूएईबीच रहिआएको द्विपक्षीय सम्बन्ध, प्रगाढ मित्रता र सौहार्दताको बलियो दृष्टान्तका रूपमा लिएको बताएको छ।

मन्त्रालयको निर्देशन बमोजिम अबुधाबीस्थित नेपाली दूतावासले विभिन्न समयमा गरेको औपचारिक अनुरोध र पहलकै फलस्वरूप मैत्रीपूर्ण देश यूएईले नेपाली नागरिकहरूलाई माफी दिने यो ऐतिहासिक निर्णय लिएको मन्त्रालयले स्पष्ट पारेको छ।

शाही माफी पाएका यी नेपाली नागरिकहरू अब संयुक्त अरब इमिरेट्सको प्रचलित कानुन बमोजिम आवश्यक कानुनी र प्रशासनिक प्रक्रियाहरू पूरा गरेर नेपाल फर्कन सक्नेछन्।

तर, त्यसका लागि उनीहरूमाथि अन्य कुनै कानुनी मुद्दा विचाराधीन नरहेको वा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) नलगाइएको हुनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *