नेकपा सांसद हमालको संशय: ‘गाडीको सिटमा प्रधानमन्त्री हुनुहुन्छ, सफ्टवेयर अन्तैबाट चल्छ’
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले वर्तमान सरकारले देशको विधि, सुशासन र पारदर्शितालाई पूर्ण रूपमा बेवास्ता गर्दै अघि बढेको गम्भीर आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले सरकारले आफूलाई तीव्र गतिमा अगाडि बढिरहेको देखाउन खोजे पनि संस्थागत र कानुनी प्रक्रियाहरूलाई भने लत्याएको बताए।
सरकारले राजमार्गमा एक्सप्रेस गाडी चलाएको दाबी गरे पनि उसलाई विधि-विधानको लेन मार्किङ र सडक बत्ती (रोड लाइट) को कुनै अनुभूति तथा वास्ता नभएको उनको टिप्पणी थियो।
डिजिटलाइजेसन र अल्गोरिदमका सन्दर्भहरू उठिरहेको बेला सांसद हमालले सरकारको निर्णय प्रक्रियाको स्वतन्त्रतामाथि नै ठुलो प्रश्न उठाए। सरकार प्रमुख गाडीको सिटमा बसेको देखिए तापनि कतै त्यो गाडी ‘अटो ड्राइभ’ मा त छैन भन्दै उनले आशंका व्यक्त गरे।
सरकार रूपी उक्त गाडीको सफ्टवेयर र अल्गोरिदम पर्दा पछाडिबाट अरू कसैले सञ्चालन गरिरहेको त छैन भनी उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद हमालले वर्तमान सरकार सुशासनको नारासहित गठन भएको प्रचार गरिए पनि व्यवहारमा भने प्रतिशोधपूर्ण शैली अपनाएर नागरिकलाई आतंकित तुल्याउने काम भइरहेको आरोप लगाए।
विगतमा संसद्मा ‘पहिला थुन्ने अनि सुन्ने’ भन्ने विषय उठेको स्मरण गर्दै उनले अहिलेको सरकार त ‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने’ नीतिमा अगाडि बढेको उल्लेख गरे। सरकारका यस्ता गतिविधिले सुशासनको धरातलमाथि नै गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।
सुशासनको नियम सत्ता पक्ष र सरकारमा रहेका व्यक्तिहरूलाई लागू नहुने परिपाटी बस्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे।
सरकार प्रमुखदेखि लिएर मन्त्रिपरिषद् र संसद्मा रहेका जिम्मेवार व्यक्तिहरू पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै सांसद हमालले सरकारलाई विधिको शासन, पारदर्शिता र उत्तरदायित्वप्रति पूर्ण रूपमा प्रतिबद्ध हुन आग्रह गरे।






डिसी नेपाल





Facebook Comment