पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु
काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन्। भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन्।
पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ। यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन्। आइतबार मूल मन्दिर बन्द भएपछि सुक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उनले उल्लेख गरिन्। पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो।
कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताइन्। उनका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ।






डिसी नेपाल





Facebook Comment